३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उपत्यकामा हिउँदे वर्षापछि... (तस्बिरहरु)

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्‍न ठाउँमा वर्षा र हिमपात भएको छ । बिहीबारदेखि नै मौसममा बदलाव आएको थियो । उपत्यकाका आसपासका डाँडा फूलचोकी, चन्द्रगिरि, नगरकोटलगायत स्थानमा पनि हिउँ परेको छ । वर्षा र हिमपातले चिसो बढेको छ । लामो खडेरीपछि शुक्रबार देशका विभिन्न भागमा हिमपातसहित हिउँदे वर्षा भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विगतका वर्षहरूमा माघसम्म धेरै पटक हिमपात र वर्षा हुने गरे पनि यो वर्ष बिहीबार मात्र हिउँदे वर्षा सुरु भएको हो । मुलुकको पश्चिमका कही भागमा भने गत मंसिरमा हल्का वर्षा भए पनि हिउँ पर्न सकेको थिएन । माघ अन्तिम साता आएर सुदूरपश्चिमका उच्च हिमाली भागमा बिहीबार रातिदेखि नै हिमपात सुरु भएको थियो भने शुक्रबार उच्च हिमाली भागहरूमा भारी हिमपात भएको छ ।

विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार हिउँदका तीन महिना (डिसेम्बरदेखि फेब्रुअरीसम्म) मा वार्षिक औसत ६०.९ मिमि वर्षा हुनुपर्छ । डिसेम्बर १ देखि फेब्रुअरी ५ सम्म ६.८ मिलिमिटर (११.१ प्रतिशत) मात्र वर्षा भएको छ । ‘सुदूरपश्चिम, कर्णाली र गण्डकीका धेरै स्थानमा वर्षा भएको छ,’ कँडेलले भनिन्, ‘पूर्वतिर शनिबारदेखि वर्षा हुने देखिन्छ । शुक्रबार वाग्मती प्रदेशसम्म मौसमी प्रणाली सक्रिय भएको छ ।’


प्रकाशित : माघ २४, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्