कृषिमा विदेशी लगानीको विरोधमा काठमाडौंमा प्रदर्शन [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — कृषिमा विदेशी लगानीको विरोधमा सरोकारवालाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । कृषिमा विदेशी लगानीविरुद्ध राष्ट्रिय संघर्ष समितिले बुधबार दिउँसो बानेश्‍वरमा आ-आफ्नो पेसा झल्किने सामग्रीसहित विरोध प्रदर्शन गरेको हो । सहभागीले सांकेतिक हलो, दूधको क्यान, ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले 'सरकारले प्राविधिक सहयोग गरोस्, हामी उत्पादन गर्न तत्पर छौं', 'कृषिमा विदेशी लगानी स्वदेशी किसान अब कता जानी ?' लगायत सन्देश लेखिएका ब्यानर, प्लेकार्ड लिएका थिए ।

यसअघि पनि डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्री दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले कृषिमा वैदेशिक लगानी ल्याउने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताएका थिए । ती संस्थाले कृषि क्षेत्रमा देशकै निजी क्षेत्रबाट अर्बौ लगानी भइराखेको अवस्थामा सरकारले अपारदर्शी निर्णय गरेको भन्दै फिर्ता लिन आग्रह गरेका हुन् ।

मन्त्रिपरिषद्को निर्णयबाट सर्तसहित डेरी उद्योग, पशुपंक्षीपालन, माहुरीपालन, माछापालन, फलफूल, तरकारीलगायत कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरी पुस २० गते राजपत्रमा प्रकाशित गरिसकेको छ ।


प्रकाशित : माघ १४, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्