कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍व कीर्तिमानी आरोही टोलीलाई काठमाडौंमा भव्य स्वागत

तस्बिर : इलिट जोशी

काठमाडौँ — विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा हिउँद याममा आरोहण गरी कीर्तिमान कायम गरेका निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु आरोहण गरेर मंगलबार स्वदेश फर्किएका हुन् ।

उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरिएको छ । विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्‍याली तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच सम्मान गरिएको थियो ।

गत वर्षमात्रै सगरमाथासहित ८ हजार अग्ला विश्वका १४ वटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाले हिउँदयाममा हालसम्म कोही नपुगेको पाकिस्तानको खतरनाक मानिने केटू हिमालको चुचुरोमा चढेर फेरि विश्वको ध्यान खिचेका छन् ।

कम्तीमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा १ सय किलोमिटर गतिको हावालाई सामना गर्दै म्याग्दीका पुर्जासहित १० नेपाली आरोही माघ ३ गते दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएका हुन् ।

‘असम्भवलाई सम्भव बनाइयो,’ प्रख्यात आरोही पुर्जाले आरोहणपछि भने, ‘मानव जातिका लागि इतिहास बनाइयो । नेपालका लागि इतिहास बन्यो ।’


प्रकाशित : माघ १३, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्