१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

काठमाडाैं उपत्यकामा खुले विद्यालय [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण करिब १० महिनादेखि बन्द रहेका काठमाडाैं उपत्यकाका विद्यालय विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् । स्थानीय तहले आफ्नो नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलाई बालबालिकाको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएपछि आइतबारबाट भाैतिक रुपमै कक्षा सञ्चालन गरिएकाे हो ।

कोभिड–१९ महामारीका गत चैतदेखि बन्द रहेका विद्यालयहरुले अनलाइन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरु सञ्चालन गरिरहेकोमा नगरबासी अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षकशिक्षिका, सञ्चालकलगायत सरोकारवालाहरुबाट प्राप्त राय सुझाव र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितीमै कक्षा सञ्चालन गरेको नगरपालिकाहरुले जनाए ।

उपत्यकाका नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका शिशुदेखि १० कक्षा सम्म सञ्चालनमा ल्याएका छन् । विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ अनुसार विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी विद्यालय सञ्चालनमा ल्याएको मध्यपुर थिमि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्र वनले बताए ।

कोभिड–१९ संक्रमितको संख्या बढ्न गएमा नगरपालिकासँग समन्वय गरी कुनैपनि समयमा भौतिक कक्षाहरु बन्द गरिने समेत जनाएको छ । थिमिस्थित आदर्श माध्यमिक विद्यालयका प्राधानाध्यापक बुद्धिकुमार धोले विद्यार्थीको संख्या बढ्दै गएमा वैकल्पिक दिनमा कक्षाहरु सञ्चालन गर्न नगरपालिकाबाट पत्राचार आएको बताए । विद्यालयले विद्यार्थी कक्षा प्रवेश गर्नुअघि ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गर्न लगाउने र मास्कलाई अनिवार्य गराएको जनाएको छ । विद्यालयले विद्यालय बन्द भएको अवधिमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई अनलाइन तथा भर्चअल कक्षा सञ्चालन गराएको भएपनि प्रभावकारी न्यून भएको सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरु बताउँछन् ।


प्रकाशित : माघ ४, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्