१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

माथि माथि सैलुङमा...[तस्बिरहरु]

शब्द/तस्बिर : किरण पाण्डे

काठमाडौँ — काठमाडौंबाट उत्तरपूर्व १२० किलोमिटरमा पर्छ दोलखाको धार्मिक तथा पर्यटकीय स्थल सैलुङ । ३ हजार १४६ मिटर उचाइमा दोलखा र रामेछापको सिमानामा अवस्थित सैलुङबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, ग‌णेश, लाङटाङ गौरीशंकर हिमाल छर्लङ देख्‍न पाइन्छ । सैलुङ महाभारत पर्वत श्रृंखलाको अग्लो ठाउँ हो ।

सैलुङमा १०८ वटा थुम्का छन् । 'कालापानीसम्म गाडीको सुविधा छ, त्यसपछि २० -२५ मिनेट को खुड्किलो चढेपछि सैलुङको पहिलो थुम्को सुरु हुन्छ,' सैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले भने । किम्बदन्ती अनुसार वर्षौं पहिले यहाँ सयौं ऋषि मुनिले तपस्या गर्नेक्रममा कलियुग सुरु हुन लागेपछि पाप देख्‍न नपरोस् भनेर ऋषिहरु विलिन भएपछि त्यही ठाउँमा थुम्का उत्पन्न भएको भन्ने कथन रहेको अध्यक्ष दुलाले सुनाए ।

५ औं बुद्ध गुरु रिन्ग्पोचे पद्म सम्भवदेखि ७ औं बुद्ध शाक्य मुनिले समेत यहाँ ध्यान गरेको भन्ने कथन छ। त्यही भएर यो ठाउँ हिन्दूहरुका लागि मात्रै नभएर बौद्ध धर्मालम्बीहरुका लागि पनि उत्तिकै महत्वपूर्ण छ । सयभन्दा बढी प्रजातिका जडिबुटीका साथै विभिन्न प्रजातिका फूल तथा पुतलीहरु यहाँ पाइन्छन् । चौरी, डाँफे र मुनाल यहाँ देख्न सकिन्छ ।

कुन्ती मोक्तानले गएको चर्चित गित 'माथि-माथि सैलुङेमा चौरी डुलाउने लाई..' पनि यही ठाउँलाई लिएर गाइएको हो । सैलुङको अर्को विशेषता भनेको समय अनुसार यसले आफ्नो रुप परिवर्तन पनि गरिरहन्छ । यहाँ रहेका सबै थुम्का घुम्‍न चाही २ देखि ३ दिन लाग्‍ने सैलुङ गाउँपालिका-८का अध्यक्ष रामेश्वर उप्रेती बताउँछन् ।

यहाँ सैलुंगेश्वर महादेव, गुप्तेश्‍वर महादेव, बुद्धको पाइला,भीमसेनको तरबार, डाँफे ढुंगा, पृथ्वीको नाइटो जस्ता धार्मिक महत्व बोकेका स्थलहरु छन् । हाल भौतिक संरचनाहरु निर्माण भइरहेको यस स्थानमा पर्यटकहरु हिउँ खेल्नका लागि आउने गरेका छन् । यस क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि गाउँपालिकाले लगानी गरिरहेको जनाएको छ । हाल पर्यटकहरुलाई लक्षित गरेर गाउँपालिकाको पहलमा होमस्टेहरु सञ्चालनमा आएका छन् ।


प्रकाशित : पुस २१, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्