कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडाैंमा राप्रपाको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाका लागि भन्दैमा शुक्रबार राप्रपाले काठमाडौंमा विशाल र्‍याली आयोजना गरेको छ । भृकृटीमण्डपबाट सुरु भएको र्‍याली रत्नपार्कमा पुगेको छ ।

रत्नपार्कमा हुने सभामा राप्रपाका अध्यक्षहरु पशुपतिशम्शेर जबरा, कमल थापा र प्रकाशचन्द्र लोहनी लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।


प्रकाशित : पुस १७, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटनमा कोरोना प्रभाव : मासिक १० अर्बको क्षति

पुनर्जिवितको प्रयासमा पर्यटन क्षेत्र
कञ्चन अधिकारी

काठमाडौँ — नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्मा दुई दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा क्रियाशील छन् । महालक्ष्मी भेहिकल टूर्सका सञ्चालक शर्मासँग पर्यटक बस र माइक्रो गरेर गत चैतसम्म ५५ वटा सवारीसाधन थिए ।

तर कात्तिक मसान्तसम्म आइपुग्दा उनको ४४ वटा सवारीसाधन मात्रै छन् । ११ वटा उनले बेचे । बेच्नुको एउटै कारण हो- कोभिड- १९ को महामारी । उनी भन्छन्, 'सबै सवारीसाधन राम्रै चलेका थिए । तर कोभिड-१९ पछिको लकडाउनले सवारी चल्न नपाउँदा ऋण तिर्न गाडी बेच्दै छु ।'

बैंकको ऋण तिर्न नसकेर उनले धमाधम सवारीसाधन बिक्री गर्न थालेका हुन् । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनपछि ठप्प पर्यटन व्यवसाय अहिलेसम्म चल्न नसक्दा शर्माले भएका सवारीसाधन बेच्दै आफ्नो गर्जो टार्न थालेका छन् ।

औसतमा मासिक २५ लाख रुपैयाँ बैंकको किस्ता तिर्नुपर्ने शर्माको अहिले न कुनै आम्दानीको स्रोत छ, न त किस्ता नतिरी बस्न पाउँछन् । उनी भन्छन्, 'पर्यटन व्यवसाय चलेको छैन । मसँग पैसा छैन म किस्ता तिर्दिनँ भन्न नमिल्ने रहेछ । बैंकले जे गरे पनि छोड्दैन । बारम्बार ताकेता गरेको गर्‍यै गर्छ । त्यसैले भएका सवारी बेच्यो ऋण र किस्ता तिर्‍यो ।' कोभिड महामारीका कारण पर्यटन व्यवसाय नौ महिनादेखि ठप्प छ । अझै कहिले पर्यटक आउँछन् र यो व्यवसाय पुनरुत्थान हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।

बाहिरबाट हेर्दा स्थापित व्यवसायी देखिएपनि कोभिड महामारीपछि आम्दानीको स्रोत नहुँदा र बैंकको किस्ता तिर्ने, कर्मचारी पाल्नुपर्ने, सवारीसाधनको ग्यारेज भाडा, नियमित मर्मत, सवारी करससहितका खर्च धान्नुपर्ने हुँदा शर्माको ओठतालु सुकेको छ । कुनै न कुनै दिन त आोफ्नो समय आउला नी भन्ने आशमा उनले आम्दानी नै नभएपनि ९६ जना कर्मचारीलाई तलब दिएर राखिराखेका छन् । उनले भने, ' कर्मचारीलाई पनि कहाँ जा भन्नु । किस्ता बुझाउनै पर्‍यो । खर्च जसरी भएपनि जुटाउनुपर्छ ।' आम्दानी शून्य तर खर्च मात्रै हुँदा समस्यामा परेको शर्मा बताउँछन् ।

२५ वर्षदेखि पर्यटक सवारीसाधन सञ्चालन गर्दै आएका शर्माले यो व्यवसायमा ५० करोड रुपैयाँ खन्याएक छन् । लगानी अनुसारको प्रतिफल नभएको र थप समस्या थपिँदै गएका कारण शर्मा आफैं सवारीसाधन बेच्न बाध्य भएका हुन् । सरकारले महामारी सुरु भएको १० महिनासम्म पनि व्यवसायीसँग छलफल नगरेको, व्यवसायलाई राहत नदिने, गैरव्यवसायीलाई अगाडि लगाउने र वास्तविक व्यवसायीलाई पाखा लगाएको गरेका कारण वास्ताविक व्यवसायी पीडित भएको उनको आरोप छ ।

कोभिडको महामारी कहिले सकिने, के हुने ठेगान नभएकोले उनी साढे दुई दशकदेखि गरिआएको पेसा पनि परिवर्तन गर्ने मनस्थितिमा पुगिसकेका छन् । यसका लागि गाडी बेचेर कृषि क्षेत्रमा लाग्ने तरखरमा छन् । उनले भने, 'तराई क्षेत्रमा जग्गासँग गाडी साटेर नयाँ अवसर खोज्ने काममा पनि सक्रिय हुन खोज्दै छु ।'

२०२० मा पर्यटनको लगानी खेर मात्रै

आकर्षक लगानी पाइने व्यवसाय र ग्ल्यामरस क्षेत्र मानिएपनि कोभिड महामारीपछि पर्यटन क्षेत्रमा गरिएको लगानी खेर गएको व्यवसायीहरुको भनाइ छ । त्यति मात्रै होइन सरकारले महत्वकांक्षी लक्ष्य राखेर सुरु गरेको भ्रमण वर्ष २०२० पनि असफल हुन पुगेकको पर्यटन व्यवसायी बताउँछन्। पर्यटन क्षेत्रमा लागेका शर्माजस्तै धेरै व्यवसायी कोभिडपछि अप्ठेरोमा पर्नुका साथै वर्षौदेखिको व्यवसायबाट विस्थापित हुन पुगेका छन् ।

कतिपय पर्यटन व्यवसायीले पेसा नै परिवर्तन गरेका छन् भने कति व्यवसाय र पेसा परिवर्तन गर्ने मुडमा छन् । सरकारले अहिलेसम्म अति प्रभावित क्षेत्र अन्तर्गत पर्ने पर्यटन व्यवसायीलाई सम्बोधन नगरेका कारण पर्यटन व्यवसायी असन्तुष्ट पनि छन् । पर्यटन भेहिकल सञ्चालन गर्ने करिब एक सय व्यवसायीले २७ सय वटा सवारी सञ्चालन गरेका छन् । अहिले ती सबै सवारीको अवस्था दयनीय बनेको छ ।

पर्यटन व्यवसायी तथा टानका अध्यक्ष खुमबहादुर सुवेदी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्र सरकारको प्राथमिकता नपरेको हुँदा पर्यटन व्यवसायी विस्थापित हुन बाध्य भएको बताउँछन् । उनले भने, 'बजेटमार्फत आएको ५० अर्ब रुपैयाँको पुनर्कर्जा कोष परिचालनमा ढिलो हुँदा व्यवसायी वर्षौंदेखिको व्यापार छोड्न बाध्य छन् । कोषको परिचालन ढिलो हुँदा यसले व्यवसायीका समस्या समाधान भन्दापनि जटिलतातर्फ धकेलिएको छ ।'

सुवेदीका अनुसार महामारीले पदयात्रा र पर्वतारोहणसँग सम्बद्ध मजदुर मात्रै तीन लाख ५० हजार प्रभावित भएका छन् । यी मजदुरलाई रोजगारी दिने व्यवसायी नै समस्यामा परेको हुँदा मजदुरको रोजगारी सुरक्षा गर्न नसकेको सुवेदीको तर्क छ । टानमा दुई हजार व्यवसायी आवद्ध छन् । यी व्यवसायमा पनि कतिपयले वैकल्पिक पेसा अपनाउन थालसकेका सुवेदी बताउँछन् । अब पर्यटन पुनर्स्थापित हुन अझै कम्तिमा एक वर्ष लाग्ने अनुमान गरिएको छ । त्यतिबेलासम्म कुर्न सक्ने व्यवासायी रहन्छन् भने अरु पेसाबाटै विस्थापित हुने यस क्षेत्रका पर्यटन व्यवसायी नै बताउँछन् ।

पर्यटनमा मासिक १० अर्बको क्षति

कोरोना महामारी कारण नेपालको पर्यटनले मासिक १० अर्ब रुपैयाँको क्षति व्यवहोरिरहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । पर्यटन बोर्डले गरेको लकडाउनपछिको पर्यटन क्षेत्रका अवस्था र पुनर्स्थापना विषयको एक अध्ययनले समग्र पर्यटन क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ, होटल, एयरलाइन्सससहितमा यस्तो क्षति अनुमान गरिएको हो । बोर्डले पर्यटन क्षेत्रले भोगेको क्षति कम गर्न र पुनर्स्थापनको लागि लकडाउनको पहिलो तीन महिनामा नै सरकारले २० अर्ब रुपैयाँ राहतमार्फत परिचालन गर्नुपर्ने सुझाव नेपाल पर्यटन बोर्डले दिएको थियो ।

उक्त सुझावलाई लत्याएर पर्यटन मन्त्रालयले ५० अर्बको पुनर्कर्जा कोष ल्याएको भएपनि सो कोष परिचालन ढिलो भएकोले यसबाट अलिहेसम्म व्यवसायीले लाभ लिन सकेका छैनन् । पर्यटन क्षेत्रमा परेको समस्या पनि ज्यूँ का त्यूँ छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक तथा प्रवक्ता मणिराज लामिछाने पर्यटन बोर्डको पर्यटन क्षेत्रमा परेको प्रभाव र क्षतिको मूल्यांकन भएको भएपनि त्यसबाट कुनै निकास ननिस्किएको र समग्र आर्थिक क्षेत्रलाई नै परेको समस्याका कारण सरकार पन्छिएको कारण व्यवसायीले कुनै राहत तथा पुनस्थापन गराउन नसकिएको बताउँछन् ।

अहिले फेरि पर्यटन क्षेत्रको पुनरुस्थान गर्न व्यवसायीका समस्याको सम्बोधन गर्न तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा उच्चस्तरीय समिति निर्माण बनेको थियो । तर संसद् विघटनपछि उनले मन्त्रीबाट राजीनामा दिए । यसको लागि पहिलो चरणमा पर्यटन बोर्ड र सम्बन्धित संघ/संस्थाका व्यवसायीसहितको प्रारम्भिक चरणका छलफल सकिएको बोर्डले जानकारी दिएको छ ।

पर्यटन आगमन सामान्य हुँदा र पर्यटको सम्पूर्ण गतिविधि पुनरागमन भएर सामान्य हुन कम्तिमा चार वर्ष लाग्ने भएकोले सो अनुसार आवश्यक काम कारबाही अगाडि बढाउन उच्चस्तरीय टोलीले काम गर्ने निष्कर्ष निकालिएको छ ।

पर्यटन क्षेत्रले विदेशी मुद्रा सटहीबाट गरेको आर्थिक वर्ष २०७६/७७ मा ७५ अर्ब रुपैयाँको थियो यस्तो आम्दानी २०७७/७८ मा ९० प्रतिशतसम्मले घट्ने अनुमान नेपाल पर्यटन बोर्डको एक अध्ययनले देखाएको छ । बोर्डका अनुसार यस्तो गत वर्ष २०७६/७७ को फागुनदेखि असारसम्ममा पर्यटन क्षेत्रबाट हुने अम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले घटेको छ ।

पर्यटन बोर्डले लकडाउन गरेको एक सर्वेक्षणमा होटल क्षेत्रमा ८१ अर्ब १० करोड, ट्राभलमा १ अर्ब ७३ करोड, ट्रकिङमा ८४ अर्ब, एयरलाइन्समा २५ अर्ब ५० करोड गरि कुल १ खर्ब १५ अर्ब ३८ करोडका पर्यटन क्षेत्रको लगानीलाई कोभिडले जोमिममा पुर्‍याएको उल्लेख छ। यसबाट २ लाख ७२ हजार मजदुरको रोजगारी संकटमा परेको पनि बोर्डको तथ्यांकमा उल्लेख छ ।

पर्यटन मन्त्रालयले लकडाउन सुरु भएदेखि औपचारिक रुपमा लकडाउन हटाएको दिन ७ साउनसम्ममा पर्यटन क्षेत्रबाट ४१ अर्ब रुपैयाँ क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो । तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार पर्यटन क्षेत्रले मासिक १० अर्ब रुपैयाँका दरले क्षति व्यहोरेको थियो । नेपाल आउने विदेशी पर्यटक, पर्यटक भित्रिएपछि यहाँका विभिन्न पर्यटकीय क्षेत्र र गतिविधिमा हुने कारोबारका आधारमा यस्तो क्षति अनुमान गरिएको हो ।

पर्यटन मन्त्रालयका अनुसार साउनपछि कुनै अध्ययन नभएपनि पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको हुनाले यसबाट भएको क्षतिलाई मासिक १० अर्ब वा सोही हाराहारीमा रहेको अनुमान गरिएको पर्यटन मन्त्रालयको भनाइ छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको पर्यटन क्षेत्रमा कोभिडको असर सम्बन्धि एक अध्ययन प्रतिवेदन अनुसार कुल ग्रार्हस्थ्य उत्पादन (जिडिपी)मा पर्यटन क्षेत्रको योगादान २.६ प्रतिशतको रहेकोमा केभिडपछि एक प्रतिशतभन्दा कममा झरेको उल्लख छ । सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएकामा सन् २०२० को नोभेम्बरसम्ममा २ लाख २० हजार मात्रै पर्यटक आएका छन् । कोभिडको कारण पर्यटक आगमन ८० प्रतिशतले घटेको छ । यसको असर समग्र अर्थतन्त्रमै गहिरो रुपमा पर्ने आयोजनको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

कोभिड संकट व्यवस्थापन तथा पर्यटकको सेवाका लागि होटल संघ नेपाल हानसँग सहकार्य हुँदै छ । होटल संघ नेपालका प्रथम उपाध्यक्ष एयरपोर्ट होटलका प्रवन्ध निर्देशक विनायक शाह अहिलेसम्म महमारी र यसको प्रभावले समग्र पर्यटन ठप्प भयो कसालाई कति नोक्सान भयो त्यो लेखाजोखा गर्न नसकिने तहमा पुगेको बताउँछन् । संसारलाई परेको अप्ठारोबाट हामी पनि अछुतो नरहन नसकेकोले भोग्नै पर्ने कोरोना कहरबाट अब भने विस्तारै सहजीकरणतर्फ जाने बाटोको खोजी गर्नुपर्ने बेला भएको बताउँछन् ।

पर्यटन क्षेत्रबाटै अलग्गिए मजदुर

१८ वर्षदेखि होटल क्षेत्रमा काम गर्दै आएका र पछिल्लोसमय बबरमहलको बसेरा बुटिक होटलमा काम गर्ने धादिङका विदुर रिजाल असारपछि बेरोजगार भए । कोरोना महामारीको कारण होटल ठप्प भएपछि रिजाल र उनको श्रीमतीको रोजगारी संकटमा पर्‍यो । होटल र्‍याडिसनमा काम गर्ने श्रीमतीलाई र दुई बच्चालाई काठमाडौंमै छोडेर उनी नयाँ अवसरको खोजीमा निस्किए ।

धादिङ धुनिवेशी-१ मा एकीकृत कृषि फार्म सञ्चालन गर्ने र एग्रो टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हाल उनी गाउँमा छन् । महामारीले सिर्जना गरेको उनको वैकल्पिक पेसालाई अवसर मानेर काम गर्न थालेका रिजाल अहिले आफैं व्यवसायी बन्दै छन् । दुई वर्षको योजना बनाएर कृषि फार्म गर्न सुरु गरेका रिजालल १५० वटा लोकल कुखुराबाट फर्म सुरु गरेका छन् भने बाख्रा पालन सुरु गर्दै छन् ।

उनले आफ्नो लक्ष्य अनुसार काम गर्न टनेल खेती पनि सुरु गर्दै छन् । अहिले जे जसरी काम गर्ने योजना बनेको छ त्यो सबै महामारीले दिएको अवसर भएको रिजाल बताउँछन् । उनलाई कोरोना महमारीले पर्यटन क्षेत्रबाटै अलग्याएको भएपनि सम्भावनाको ढोका अर्को क्षेत्रमा खुला भएको सोचेर नयाँ कर्ममा लागेका छन् ।

जिल्ला बालकल्याण समितिको सूचना व्यवस्थापन अधिकृतको सरकारी जागिर छोडेर सात वर्षदेखि टुर गाइड गर्दै गरेका नुवाकोटका भूमराज तिवारी करिब एक वर्षदेखि बेरोजगार छन् । विश्वव्यापी रूपमा कोराना महामारीको त्रास बढ्दै गएपछि गत वर्षको अक्टोबर/नोभेम्बरको पर्यटकीय सिजनपछि नै तिवारीले काम पाएनन् । काठमाडौं बसेर भाडा तिर्न, खानबस्न र बाहिर फेर निस्कन खर्च नहुने र महामारीबाट बच्न घरमै बस्नुपर्ने भएपनि तिवारी नुवाकोटस्थित आफ्नो गाँउ बेलकोट गए ।

अहिले उनी उतैको पुर्ख्यौली कृषि पेसामै रमाइरहेका छन् । पर्यटनमा जस्तो स्वतन्त्र भएर काम गर्न नपाइने र घुम्न डुल्न तथा खानपानले पनि गाइड पेसाले उनलाई आकर्षित गरेकोले पुनः पर्यटन सुचारु हुने दिन गन्दै बसिरहेको तिवारी केही समय पर्यटन क्षेत्रबाट अलग्गिएपनि पुनः यही क्षेत्रमा जोडिनेमा विश्वस्त भएको बताउँछन् ।

सिन्धुलीका प्रमेश देवकोटा र उनकी श्रीमती नौ महिनादेखि मजदुर युनियन र होटल संघ नेपालबीच भएको सहमति अनुसार प्रतिव्यक्ति १० हजारको मासिक पारिश्रमिबाट काठमाडौंमा आफ्नै दैनिकी गुजारीरहेका छन् ।

बत्तिसपुतलीको द्वारिका होटलमा काम गर्ने देवकोटा दम्पती नियमित काममा जान भने पाएका छैनन् जसका कारण उनीहरूलाई जीवन धान्न अत्यावश्यक खर्च जुटाउन पनि धौ-धौ परिरहेको छ । एक महिना भाडा तिर्दा अर्को महिना धान्नै गाह्रो पर्ने गरेको बताउँछन् । तर, पनि होटल खुल्ने, पर्यटक आउने र पुरानै लयमा पर्यटन फर्कने आशमा पर्यटनबाट बाहिरिन भने नसकेको बताउँछन् ।

पर्यटन क्षेत्रका यी भिन्न भिन्न प्रतिनिधिमूलक पात्र जस्तै हजारौं मजदुर कोभिड महामारीले नित्याएको संकटका कारण दैनिक गुजारा चलाउने अर्थोपार्जनको अभावमा छन् । पदयात्रा, पर्वतारोणह, गाइड, पर्यटक सवारी, होटल, र्‍याफ्टिङसहितका अन्य पर्यटन मजदुर पनि चरम संकटमा छन् ।

पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका अनुसार कोभिडका कारण करिब प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका करिब १० लाख पर्यटन मजदुर प्रभावित भएका छन् । यसमध्ये दुई प्रतिशतको मात्रै आफ्नै घर भएका छन् । अरू १५ प्रतिशत काठमाडौं बाहिर वैकल्पिक काममा लागेका भएपनि बाँकी सबै मजदुर पर्यटन क्षेत्रमै निर्भर रहेको र यी क्षेत्रप्रतिको आशामा जिइरहेको नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डे बताउँछन् ।

पर्यटन क्षेत्रमध्ये होटल लाइनमा लाग्नेमा करिब ५० प्रतिशत परिवारनै लागेका छन् । श्रीमान श्रीमती पर्यटन क्षेत्रमै क्रियाशील भएका र महामारीपछि चरम आर्थिक समस्यामा पर्नेको परिवार अधिक भएको पाण्डे बताउँछन् ।

पर्यटन व्यवसायी धमाधम विस्थापित हुँदै

ठमेलमा ट्रेकिङ मार्ट चलाइरहेका ट्रेकिङ एजेन्जिस एशोसिएसन अफ नेपाल (टान) का पूर्व उपाध्यक्ष गोपाल श्रेष्ठ कोरोना महामारीपछि ठमेलबाट विस्थापित भएका छन् । ठमेलमा महँगो भाडा तिर्नुपर्ने र महामारीपछि व्यवसायमसेत ठप्प भएकोले ट्रेकिङ अफिस बन्द गरेर दसैंदेखि वनस्थली, इचंगुनारायण कफि शप सञ्चालन गर्न थालेका छन् । ठमेलमा भिडभाड बढेर कोहालापूर्ण हुँदै गएको थियो भने महामारीपछि व्यवसाय ठप्प भयो त्यसमा पनि अब कहिले पुनर्स्थापित हुन्छ भन्ने ठेगान नभएकोले तत्कालको विकल्प कफि शप बनाएको श्रेष्ठले बताउँछन् ।

टानकै पूर्व उपाध्यक्ष तथा नेपाल अल्टरनेटिभ ट्रेक्स एण्ड एक्सपिडिशनका प्रवन्ध निर्देशक तेजबहादुर गुरुङले पनि ठमेलमा वर्षौदेखिको कार्यालयलाई रानीवनस्थित निवासमै सारेका छन् । मासिक ३० हजारको भाडा तिर्न पनि समस्या भएको र कार्यालयमा काम हुनुको साटो माकुराले जालो लाउन थालेपछि अनावश्यक खर्च कटौती गर्न पनि पर्यटकीय क्षेत्र ठमेल छोड्नुपरेको गुरुङ बताउँछन् । घरमै कार्यालय लैजाँदा खर्च कटौंती हुने र कमाई नै नभएको समयको भाडा मात्रै भएपनि बचत हुने भएकोले ठमेलबाट झिटीगुन्टा बोकेर घरमैमा ल्याइएको गुरुङले बताए ।

ठमेलका अर्का पर्यटन व्यवसायी हरि इटानी पनि पर्यटन व्यवसाय छोडेर अर्के पेसामा लागेकाछन् भने देवी पाण्डे पनि ठमेलबाट विस्थापित भएका छन् । ठमेलमै हिमालय ब्रीउ कफि सञ्चालन गरेका धादिङका प्रकाश बास्कोटा पनि पर्यटक नआउने र नेपालीले कफि पिउन नबस्ने हुँदा पसल छोडर हिँडेको बताउँछन् । बास्कोटा ठमेलबाट विस्थापित भएर बालाजु नेपालटारमा सामान्य चिया पसल सञ्चालन गर्न पुगेका छन् । ठमेलबाट विस्थापित हुने स्थापित यी पर्यटन व्यवासायी प्रतिनिधि पात्र मात्रै हुन् । अन्य धेरै व्यवसायी माहामारीपछिको समस्याले पर्यटकीय क्षेत्रबाट विस्थापित भएका छन् ।

पर्यटनविद् दीपकराज जोशी पर्यटन पुनर्स्थापित गर्ने सन्दर्भमा सामान्य सर्भेक्षण बाहेक कोभिड प्रभावको विषयमा कुनै उल्लेख अध्ययन नभएको बताउँछन् । उनका अनुसार काठमाडौं लिभिङ ल्यावले पछिल्लो समयको पर्यटनको अवस्था र पर्यटन क्षेत्रमा परेको कोभिडको असरको विषयमा अध्ययन गर्न चासो देखाएको छ । यो संस्थाले अहिले प्रारम्भिक छलफलमा रहेको औपचारिक रूपमा कुनै कार्यक्रम भने अगाडि बढि नसकेको जोशी बताउँछन् ।

विश्व पर्यटन संघठनका अनुसार नेपालको पर्यटनमा १० लाख जनशक्ति संग्लग्न छन् । यस मध्ये दुई लाखको अवस्था तुलनात्मक रूपमा सहज भएपनि बाँकी आठ लाख मजदुर कोभिडका कारण प्रभावित भएको उल्लेख गरेको छ ।

मजदुर निकाल्ने बहानामा क्षमता घटाउँदै पाँचतारे होटल

सञ्चालन खर्च बढेको र मजदुरलाई निकाल्ने बहानामा पाँचतारे होटलले क्षमता घटाएर सञ्चालन गर्ने घोषणा गर्न थालेका छन् । सोल्टी, अन्नपूर्ण, हायात, र्‍याडिसन, एभरेष्टसहितका होटलले एक तिहाइ मात्रै कोठा सञ्चालन गर्ने र सो अनुसार मजदुर आवश्यक पर्ने भन्दै कर्मचारी कटौंती गर्न थालेका छन् । तीन सय कोठा भएको होटलले पनि एक सय वटा मात्रै कोठा चलाउने र त्यसका लागि आवश्यक पर्ने कर्मचारी बाहेकलाई विदामा पठाउने रणनीति अपनाउन थालेका छन् । कतिपय पाँच तारे होटल बन्दै हुन लागेका छन् ।

पाँचतारे होटल अन्नपूर्णले कर्मचरी निकाल्ने बहानामा होटल अहिलेसम्म सञ्चालन गरेको छैन भने होटलको एक तिहाई मात्रै कोठा सञ्चालन गर्ने र बाँकी बन्द गर्ने जानकारी मजदुरलाई दिन थालेको छ । पाँचतारे होटल सोल्टीले कोभिड पछि ९८ जना कर्मचारीलाई अवकास दिइसकेको र स्वाच्छिक अवकास योजना ल्याएर अझै थप कर्मचारीलाई घर पठाउने काम गरिरहेको छ ।

होटलका आधिकारिक ट्रेड युनियनका अध्यक्ष शुशील राजभण्डारीका अनुसार होटलले तीन हजार जनाको लागि एकैदिन पार्टी गर्न सकने भएपनि हाल कोभडिपछि ४० देखि ५० जनालाई मात्रै सेवा दिनुपनरेकोले जनशक्ति घटाउँदै गएको बताउँछन् । होटलका ९० प्रतिशत पाहुना जहाज चढेर आउने पर्यटक नै हुने भएकोले पनि अहिले पर्यटक नहुँदा होटलको २८३ कोठामध्ये जम्मा १०१ कोठा मात्रै चलाउने सूचना होटलले मजदूरलाई दिइसकेको छ ।

होटलले मजदुर निकाल्ने विकल्पको रूपमा कम कोठा सञ्चालन गर्ने, कर्मचारीलाई सन् २०२१ देखि कम्तिमा एक वर्षको लागि बेतलबी विदा पठाउने सूचना सार्वजनिक गरिसकेको छ । यस्तो बेतलबी विदा कम्पनीमा पाँच वर्ष लम्बाउन सकिने गरी होटल मजदुर निकाल्ने सूचना सोल्टी होटलले सार्वजनिक गरेको छ ।

हायात होटलले पनि २८० वटा कोठामध्ये १ सयवटा मात्रै सञ्चालन गर्ने भन्दै मजदुरलाई १ जनावरी २०२१ देखि कम्तिमा दुई वर्षको लागि बेतलबी विदामा पठाउने सूचना जारी गरेको छ। सो समयपछि पनि होटल व्यवसाय सामान्य अवस्थामा नआए थप ३ वर्ष समय थप गरेर मजदुरलाई ५ वर्ष बेतलबी विदामा राख्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको छ । होटल ८ चैत २०७६ देखि नै पूर्णरुपमा बन्द रहेको र अझै खुला हुने तथा सामान्य अवस्थामा आउने सम्भावना नरहेको भन्दै मजदुर कर्मचारीलाई स्वेच्छिक अवकाश लिन हायातले दबाब दिइरहेको छ ।

सोल्टी होटलले कर्मचारी निकाल्ने बहानामा अपनाएको यो विधिलाई अन्य होटलले पनि अपनाउन खोजेका छन्। अन्नपूर्ण, हायात, एभरेष्ट, र्‍याडिसनसहितका होटलले पनि अब सन् २०२१ मजदुरलाई विदामा राख्ने जानकारी दिइसकेको अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डे बताउँछन् ।

प्रकाशित : पुस १७, २०७७ १४:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×