१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

२०२० : २० तस्बिरमा कोभिड कहर

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ का कारण सन् २०२० महामारी र अनिश्‍चयको वर्ष बन्यो । कोभिडका कारण विश्व नै आक्रान्त बनेका बेला नेपाल यसबाट अछुतो रहन सकेन । कोरोनाका कारण हजारौं संक्रमित भए । कतिले आफन्त गुमाए । धेरैले रोजगारी गुमाए । कर्मथलोलाई छोडेर पैदलै गाउँ फर्किनेको लर्को राजमार्गमा देखियो । परदेशमा रहनेहरु पनि स्वदेश आउन थाले । कोरोना भाइरसले हाम्रो मानसिक र सामाजिक परिवेशमा धेरैथरीका परिवर्तन ल्यायो । कोरोना संक्रमणको जोखिम र भयकै बीच सन् २०२० बिदा हुँदैछ । कान्तिपुरका फोटो पत्रकारहरुले खिचेका यी २० तस्बिरमा कोरोना कहर यसरी देखियो :कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा ज्यान गुमाएकाहरुको काठमाडौंको पशुपतिस्थित विद्युतीय शवदाह गृह परिसरमा अन्तिम संस्कारअघि सलामी दिँदै सैनिकहरु । तस्बिर : इलिट जोशी [तल]

सरकारले कोभिड–१९ संक्रमणको जोखिम रोकथामका लागि २०७६ साल चैत ११ गते लकडाउन गरेपछि सुनसान देखिएको काठमाडौं उपत्यकाको सुनसान सडकको हवाईदृश्य । तस्बिर : इलिट जोशी

काठमाडौंको बानेश्वरमा लकडाउन उल्लंघन गर्दै सडकमा आएका व्यक्तिलाई नियन्त्रणमा लिँदै प्रहरी । तस्बिर : हेमन्त श्रेष्ठ

टोखास्थित ग्रान्डी अस्पतालमा पीपीई सेट तयार गर्दै कर्मचारी । तस्बिर : किरण पाण्डे

बारभन्दा पारि सैनिक मञ्चमा संविधान दिवसको पुष्पवृष्टि र हर्षोल्लास भइरहँदा संविधान दिवसका दिन वारि खुलामञ्चमा सहयोगीले खुवाएको खानाले भोक टार्दै सर्वसाधारण । तस्बिर : अनिश रेग्मी

कञ्चनपुरको गड्डाचौकी नाकामा भारतमा रोजगार गुमाएका तथा संक्रमणको डरका कारण भारतबाट स्वदेश फर्कनेको भीड । तस्बिर : भवानी भट्ट

विराटनगर महानगरपालिका–६ मा कोभिड राहतका लागि दूरी कायम गरेर पालो पर्खिँदै सर्वसाधरण । तस्बिर : देवनारायण साह

काठमाडाै‌ंको चाल्नाखेलस्थित इस्लिामिया फैजुल कुरान मदरसामा स्वास्थ्य सेवा विभागबाट पीसीआर चेक हुँदै गर्दा बालबालिकाको भंगिमा । तस्बिरः बिजु महर्जन

प्रतिनिधिसभा सुरु हुनुअघि संसद् भवनमा पीसीआर परीक्षण गराउँदै शीर्ष नेताहरु । तस्बिर : इलिट जोशी

लकडाउनको समयमा सार्वजनिक सवारी सहज उपलब्ध नहुँदा धादिङका डम्बरबहादुर सिम्खडा ४२, बिरामी श्रीमती सीता ४०, लाई डायलासिस गराउन सामाखुसीस्थित डेराबाट ठेलामा राखेर अस्पताल लैजाँदै । उपचारकै क्रममा केही समयअघि सीताको निधन भएको छ । तस्बिर : केशव थापा

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षणको लागि अस्पताल परिसरमा सुतेका सर्वसाधारणहरु । अस्पातलले सिमित मात्रामा परीक्षण गर्दा अघिल्लो दिनदेखि नै लाइनमा बस्ने गरेका थिए । तस्बिर : अंगद ढकाल

रोल्पा घर भई ललितपुरको लेले बस्ने सुनिता पुनमगर २७, मध्य असोजताका आफ्ना ३ महिनाका जम्ल्याहा छोरा र छोरी बोकेर गाउँमा तरकारी माग्न जाँदै । झन्डै १५ वर्षदेखि उनी र उनका श्रीमान इँटा भट्टामा काम गर्ने उनीहरु भट्टाको काम बन्द भएकाले हातमुख जोर्न धौधौ परेको थियो । कोरोना संक्रमणको जोखिमका कारण गरिएको लकडाउन र निषेधाज्ञाले अधिकांश उद्योगहरु साथ व्यवसाय बन्द भएको कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरु प्रत्यक्ष मारमा परेका थिए । तस्बिर : हेमन्त श्रेष्ठ

कोभिड–१९ संक्रमणको डरका कारण मानिसको आवतजावत रोक्न चितवनको दारेचोकको झोलुंगे पुलमा स्थानीयले लगाएको छेकबार । तस्बिर : किरण पाण्डे

काठमडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरु । तस्बिर : किरण पाण्डे

कोरोना संक्रमण र जोखिम रहेकै अवस्थामा तिहार सकिएलगत्तै नेपालगन्जको जमुनाह नाकाबाट रोजगारीका लागि पुनः भारत फर्कनेहरुको लाइन । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

कोभिड–१९ का कारण लकडाउन भएको १६२ दिनपछि अन्तर्राष्ट्रिय व्यवसायिक उडान खुलेपछि हिमालय एयरलाइन्सको नियमित उडानबाट चीनको चोङकिङ प्रस्थानको लागि पीपीई लगाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका यात्रुहरु । कोरोना संक्रमण फैलिन नदिन २०७६ चैत ९ गतेदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडान रोकिएको थियो । लकडाउनको ५ महिनापछिको यो नै पहिलो व्यवसायिक उडान हो । तस्बिर : अंगद ढकाल

कोरोना जोखिम नियन्त्रणका लागि देशभर लकडाउन गरिएको अवस्थामा बानेश्वरस्थित संसद् भवनमा सरकारको नीति तथा कार्यक्रमका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा मास्कसहित उभिएका सैनिक जवान । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

ललितपुरको जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा फेससिल्ड लगाएर योग तथा अभ्यास गर्दै । तस्बिर : अनिश रेग्मी

मास्क लगाएर गन्तव्यमा जाँदै मोटरसाइकलमा सवार परिवार । तस्बिर : सन्जोग मानन्धर

२०७७ सालको अन्तिम विवाह साइतमा काठमाडौंको भद्रकाली मन्दिरमा सुरक्षा विधि अपनाएर विवाह गर्दै जोडी । तस्बिर : इलिट जोशी


प्रकाशित : पुस १६, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्