स्वयम्भूका संरचना नभत्काउन माग गर्दै दिप प्रज्वलन [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — चक्रपथको कंलकी-चाबहिल सडक विस्तारको क्रममा विश्व सम्पदामा सूचिकृत संरचना भत्काउन लागिएको भन्दै शनिबार बौद्धमा विरोध प्रदर्शन गरिएको छ । 'स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं' अभियानले शनिबार बौद्धमा दिप प्रज्वलन गर्दै विरोध गरेको हो । सम्पदा बचाउ अभियान्ताहरुले शनिबार एकैसाथ बौद्धसहित स्वयम्भू र लुम्बिनीमा पनि दिप प्रज्वलन गरेका थिए ।

सडक विभागले चक्रपथ विस्तारको क्रममा कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार जारी राखेको छ । यस क्रममा विश्व सम्पदामा सूचिकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तूप (साङ्गे तोङ्कु)समेत भत्काउन लागिएको स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले जनाएको छ ।

सडक विस्तारका क्रममा त्यस क्षेत्रभित्र रहेका बुद्धका मूर्ति, हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल नमुना बोधिचैत्यसहितको पर्खाल भत्काउने धार्मिक, सांस्कृतिक सम्पदा संरक्षण विरोधी कदम अविलम्ब रोक्न सरकार र सम्बन्धित निकायलाई अभियानले आग्रह गर्दै आएको छ ।


प्रकाशित : मंसिर २०, २०७७ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्