२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

साताका ७ तस्बिर

यो साताका ७ तस्बिरमा तिहारका लागि काठमाडाैं उपत्यकामा सयपत्री टिप्दै गरेका किसानदेखि लमजुङमा जाडो छल्न बेंसी झारिएका भेडाबाख्रासम्म:
कान्तिपुर संवाददाता

काठमाडौँ — तिहारका लागि सयपत्री फूल टिप्दै काठमाडौं उपत्यकाको ग्रामिण भेगका किसानहरु । माला र सजावटका लागि तिहारमा फूलको माग अत्यधिक हुने गरेको छ । तस्बिर : इलिट जोशी

काठमाडौंको खुलामञ्चमा स्वयंसेवीले बाँड्ने खाना खान पर्खिरहेका सर्वसाधारण । काठमाडौं महानगरपालिकाले गत सोमबार सार्वजनिकस्थलमा खाना वितरणमा रोक लगाएको थियो । तर पछि शुक्रबार खाना वितरण गर्ने अभियान्ता र महानगरपालिकाबीच सहमति भयो । सहमतिमा भाइटिकाको भोलिपल्टदेखि निश्चित स्थान वा प्याकेटमा मात्र खाना वितरण गरिने भएको छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका, मजदुर, असहाय र अशक्तलाई खुलामञ्च, पशुपतिलगाएतका क्षेत्रमा मनकारीहरुले नि:शुल्क खाना खुवाइरहेका थिए । यसबाट संक्रमण फैलने खतरा हुने, फोहोर हुने र सहरको सौन्दर्य बिग्रने भन्दै महानगरले खाना वितरण बन्द गर्न लागेको बताएको थियो । तस्बिर : सन्जोग मानन्धर

भक्तपुरको या: छो मा तिहारको लक्ष्मीपूजा र भाइटिकाका लागि पूजामा प्रयोग हुने छापा फोटो बनाउँदै चेतकुमारी चित्रकार । उनी विगत ४५ वर्षदेखि फोटो छापा बनाउँदै आइरहेकी छिन् । यो तिहारका लागि उनले एकहजार प्रति फोटो बनाउँदै छिन् । तस्बिर : बिजु महर्जन

मौसम खुलेपछि भक्तपुरको रानीकोटबाट देखिएका हिमश्रृंखला । तर पछिल्लो समय हिमालहरूमा हिउँ भने हराउँदै गएको छ । सामान्यतया काठमाडौं उपत्यकाबाट हिमालचुली, लाङटाङ, दोर्जेलाक्पा, गणेश, गौरिशंकर लगायतका हिमालहरु देखिने गरेका छन् । तस्बिर : अंगद ढकाल

आइतबार काठमाडौंको स्वयम्भूनाथमा धाराबाट पानी पिउँदै बाँदर । तस्बिरः कविन अधिकारी

भक्तपुरको गुण्डुमा तिहारका लागि मखमली फूलको माला उन्दै स्थानीय महिला । दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व मानिने तिहारमा मखमली फूलको विशेष महत्त्व रहिआएको छ। तस्बिर : केशव थापा

लमजुङको मर्स्याङ्दी–२ घनपोखरास्थित २३ सय मिटर उचाइको फुल्बु च्हो डाँडामा झारिएको भेडीगोठ । हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि भेडीगोठ तल झार्न थालिएको छ । जाडो छल्न बेंसी झारिने भेडाबाख्रालाई वैशाख पहिलो साता लेक फर्काउने गरिन्छ । तस्बिर : आश गुरुङ


प्रकाशित : कार्तिक २२, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्