कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिटिक्क दरबार हाई स्कुल [फोटोफिचर]

चीनले ८५ करोडको लागमा निर्माण गरिदिएको भवन नेपाल सरकारलाई हस्तान्तरण गरिँदै
गणेश राई, तस्बिर : अनिस रेग्मी

काठमाडौँ — १६७ वर्षको इतिहास बोकेको दरबार हाईस्कुल नयाँ स्वरूपमा चिटिक्क भएको छ । २०७२ बैशाखको भूकम्पले ध्वस्त पारेका भवन नयाँ निर्माण गरिएको हो । चीनको सहयोगमा निर्माण भएको यो विद्यालयको भवन पुरानै मौलिक शैलीमा बनाइएको छ । चिनियाँ सरकारको ८५ करोडको लागतमा निर्माण पूरा भएको भवन बुधबार हस्तान्तरण हुँदैछ ।

६ महिनाअघि नै निर्माण सम्पन्न भए पनि कोरोना महामारीका कारण हस्तान्तरणको कार्यक्रम पछाडि सरेको हो । काठमाडौं महानगरपालिका–२७ मा रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा चारतले भवन बनेको छ । पूर्वी मोहडामा रहेको ४५ कोठाको चार तले भव्य भवन संरचना चिनियाँ सांघाई कन्सट्रक्सनले भवन निर्माण गरेको हो । यहाँ साबिकका भानु र संस्कृत माध्यमिक विद्यालय संचालन हुनेछन् ।

भवन प्रवेश गरेपछि माथि उक्लिन दुईवटा सिढी छन् । २१ वटा कक्षा कोठा संस्कृत माविको भागमा पारिएको छ भने ३३ वटा कोठा भानु माविका रहने छन् । केही साझा कक्ष रहने छन् । दुई–दुई वटाको संख्यामा कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्तकालय छन् ।भूइँमुनिको तलामा खानेपानीको स्रोत व्यवस्थापन कक्ष छ । भूइँतलामा २३ वटा कक्षा र चारवटा अपांगतामैत्री शौचालय छन् । शिक्षक, व्यवस्थापन समिति, पाहुना कक्ष छन् भने हरेक कक्षा कोठा अत्याधुनिक फर्निचरसहित सजाइएका छन् । निओ क्लासिकल शैलीमा निम्ति भवनको माथि नेपाली शैलीको झिंगटीको छाना हालिएको छ । भवनको पहिलो तला पश्चिमतर्फ खुल्ला बरन्डा छ । भवनको दक्षिणतर्फ खुल्ला ठाउँ राखिएको छ ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले विसं. १९१० थापाथलीस्थित आफ्नै दरवारको आँगनमा पाठशाला सुरु गरेका थिए । त्यसैले उक्त पाठशालालाई ‘दरबार स्कुल’ भनेर चिनिएको हो । उक्त पाठशाला विभिन्न ठाउँ सार्दै रानीपोखरी परिसरमा पुर्‍याएको थियो । विसं. १९३४ मा दरबार स्कुलमै संस्कृत पाठशालासमेत स्थापना भएको थियो । १९४८ सालमा रानीपोखरी छेउमा दुई तलाको एउटा ठूलो र लामो भवन बनेको थियो । उक्त भवनको भूइँतलामा संस्कृत मावि र माथिल्लो तलामा भानु माविका कक्षा सुरु भएका थिए । भूकम्पले ध्वस्त भएपछि दुवै विद्यालयका विद्यार्थीलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको हातामा अस्थायी टहरामा सारेर पढाइदै आएको छ ।

कोरोना भाइरसको महामारीयता देशका अधिकांश शैक्षिक संस्था खुलेका छैनन् । दरबार हाई स्कुल पनि खुलेको छैन । यी विद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्युन छन् । विद्यालयको भवन उद्घाटन हुने भएपछि दुवै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, शिक्षकहरू तयारीमा जुटेका छन् । संस्कृति मावि व्यवस्थापन समितिकी अध्यक्ष तथा पूर्वसभासद प्रभादेवी बज्राचार्य नयाँ भौतिक संरचनासँगै फरक ढंगले संचालन गर्ने बताइन् । कक्षा ६ देखि १२ सम्मका करिब ३ सय विद्यार्थी सम्पर्कमा रहेको जानकारी उनले दिइन ।राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विद्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहनेछ । समारोहमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रिय पुन:निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीलाई नवनिर्मित भवनको चाबी हस्तान्तरण गर्नेछिन् ।


प्रकाशित : कार्तिक ४, २०७७ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्