कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवदुर्गा देवगणको मुकुण्डो तयार पारिँदै [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — भक्तपुरको याछेँ ६ स्थित ७४ वर्षीय पूर्ण चित्रकार नवदुर्गा देवगणको मुकुण्डो तयार पारिरहेका छन् । जीवित देवताको रुपमा पुजिने भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, बालकुमारी, श्वेतभैरव, सिंह र दुम्ह गरी १३ देवीदेवताका मुकुण्डो उनले बनाउँदै आएका छन् ।

पूर्णले हरेक वर्ष घण्टाकर्णको दिनदेखि मुकुण्डो बनाउन सुरु गर्छन् र दसैंको नवमीमा सक्छन् । एउटा मुकुण्डोको तौल पाँच किलोदेखि ६ किलोसम्म हुन्छ ।

यो मुकुण्डो लगाएर वनमाला समुदायका कलाकारहरूले नवदुर्गाको नाच सुरु गर्छन् । नवमीको दिन वनमाला समुदायबाट छानिएका नवदुर्गा देवगणलाई कर्माचार्यहरूले मुकुण्डो हस्तान्तरण गरेपछि ‘खमे ब्वाकेउ’ जात्रा सुरु हुन्छ । नौ महिनासम्म भक्तपुरका २२ ठाउँमा वनमाला समुदायका देवगणले मुकुण्डो लगाएर नवदुर्गा नाच निकाल्छन् । यो नाच भक्तपुरमा सीमित रहँदैन, पशुपति, साँखु, नाला, नंखेल, साँगा, बनेपा, पनौती, धुलिखेलसम्म पुग्छ ।

प्रत्येक वर्ष असारको भलभलअष्टमीमा मुकुण्डो जलाएर नवदुर्गा देवगणको विसर्जन गरिन्छ । नवदुर्गा नाच बाहेक यो मुकुण्डो ङाला केगु जात्रा ‘माछा मार्ने जात्रा’, गाईजात्रा, देवीनाच, भैरव नाच, लाखे नाच लगायतमा समेत प्रयोग गरिन्छ ।

मुकुण्डो बनाउन झन्डै ३ लाख खर्च हुन्छ । त्यसमा नगरपालिका, गुठी संस्थान र धर्म गुठीले केही सहयोग गर्ने गरेका छन् । कोरोना महामारीका समयमा नवदुर्गा गणको जात्रा पहिले जस्तै गर्ने वा औपचारिक पुजाआजामा सीमित राख्‍ने भन्ने बारे नगरपालिकामा छलफल चलिरहेको छ ।


प्रकाशित : आश्विन २७, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्

यलम्बरको नयाँ तस्बिर सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको किरातकालीन पहिलो राजा यलम्बरको नयाँ रेखाचित्र सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार टेकबीर मुखियाले २०४८ सालमा निर्माण गरेको यलम्बर रेखाचित्रलाई युवावस्थालाई नयाँ रूपमा सार्वजनिक गरिएको हो । नयाँ रेखाचित्रलाई कलाकार देव कोइमीले निर्माण गरेका हुन् । 

किरात राई यायोक्खाले प्रकाशन गरेको यलम्बरको रेखाचित्र मंगलबार एक समारोहबीच सार्वजनिक गरिएको हो ।

नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रवेश गरेको उल्लेख छ । इतिहासकारकाअनुसार नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ किरातकालमा भएको पाइन्छ । यलम्बरदेखि खिजुसम्म ३२ पुस्ताले १९ सय ६४ वर्ष शासन गरेका थिए ।

तिनै किरात शासनका आरम्भकर्ता यलम्बरलाई गौरवमय व्यक्तित्वका रूपमा लिने गरेको यायोक्खाका अध्यक्ष दिवस राईले बताए । ‘अबदेखि किरात यलम्बरको युवाकालीन रेखाचित्र विश्वभरि प्रयोग गरिनेछ,’ अध्यक्ष राई भने ।

किरात जाति तथा समुदायमा दुईथरी यलम्बर सम्वत्‌को समेत प्रचलनमा छ । यसलाई येले संवत्, येले तङ्बे, येले थोचे भन्ने गरेका छन् । पहिलेदेखि चलनमा रहेअनुसार सन् २०२० लाई येले संवत् ५०८० र पछिल्लो दशकमा इतिहासविद्ले पहिल्याएअनुसार ३७९९ समेत उल्लेख गरेको पाइन्छ ।

प्रकाशित : आश्विन २७, २०७७ १८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×