कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कारविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — बलात्कारका घटनाहरु वृद्धि हुँदा पनि सरकार मौन बसेको भन्दै विद्यार्थीहरु प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डालमा स्वतन्त्र विद्यार्थीहरुले बलात्कारका घटनाहरु बढ्दा सरकार मौन बस्दा झन् घातक भएको भन्दै सरकार विरुद्ध नाराबाजीका साथै प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसहित प्रदर्शन सुरु गरेपछि प्रहरीले धरपकड समेत गरेको थियो ।


प्रकाशित : आश्विन २५, २०७७ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्

उखुको भुक्तानी गराइदिन संसदीय समितिलाई किसानहरूको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — रौतहटका किसानहरूले श्रीराम सुगर मिल्सबाट उखु बेचेबापतको भुक्तानी पाउने व्यवस्था मिलाइदिन संसदीय समितिलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार पुगेका किसानहरूले श्रीराम सुगर मिल्सबाट आफूहरूले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन भन्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र उखु उत्पादक संघका सचिव सफीन्द्रप्रसाद यादवले समिति सभापति बिमलप्रसाद श्रीवास्तवलाई बुझाएका हुन् ।

श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सधैंका लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । त्यससँगै भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफूहरू मारमा परेको गुनासो सचिव यादवले गरेका थिए ।

उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दसैंअघि नै पाउने व्यवस्था मिलाएइदिन पनि किसानहरूले समितिसमक्ष आग्रह गरेका छन् । त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दसैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् ।

आफ्ना मागहरूको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनुपर्ने उनीहरूको भनाइ थियो । चिनी मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफूहरू अन्योलमा परेको किसानहरूको भनाइ छ ।

किसानहरूले आर्थिक वर्ष २०७१/०७२को १२ करोड रुपैयाँ, आव २०७५/०७६ को २८ करोड ५० लाख रुपैयाँ र आव २०७६/०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । उद्योग बन्द हुँदा त्यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाएका हजारौं व्यक्ति समस्यामा परेको र हजारौं घरपरिवारको आयस्रोत नै बन्द भएकाले उद्योगलाई फेरि सुचारु गर्ने वातावरण मिलाइदिन समेत किसानहरूले माग गरेका छन् ।

रौतहटमा करिब १८ हजार किसानले उखु खेती गर्दै आएको तर उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौं घरपरिवारको आयस्रोत बन्द भएको किसानहरूको भनाइ छ ।

प्रकाशित : आश्विन २५, २०७७ १५:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×