कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

डा. केसीका पक्षमा प्रदर्शन [तस्बिरहरू]

तस्बिर : केशव थापा

काठमाडौँ — डा. गाेविन्द केसी पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले सहमतिलाई सुनिश्चत गर्न दबाब स्वरूप शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । अलायन्सले मुलुकका विभिन्न ठाउँमा पनि प्रदर्शन जारी राखेकाे छ ।

माइतीघरमा प्रदर्शनका क्रममा सम्बोधन गर्दै डा. केसी पक्षका वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले संवादका लागि अनशन बसेको २४ दिन कुरेको सरकारले वार्तालाई गम्भीरताका साथ नलिएको बताए । बिहीबारको वार्तापछि गृहकार्यका लागि भन्दै सरकारले आफूहरुलाई बेवास्ता गरेको बताए ।

बिहीबारको वार्तापछि २४ घण्टासम्म त्यसै आफूहरुलाई सरकारी वार्ता टोलीले रोकेर राखेको अधिवक्ता अर्यालले बताए । शुक्रबार मध्यराति भएको वार्तामा पनि बिहीबार भएको सहमति पालना गर्न सक्दैनौं भनेर सरकारी वार्ता टोली पन्छिएको उनले बताए । ‘हामीलाई माथिबाट प्राप्त म्यान्डेटअनुसार यहाँभन्दा बढी सहमति गर्न सक्दैनौं । तपाईंहरुले प्रधानमन्त्री, शिक्षामन्त्री कोसँग कुरा गर्ने हो उहाँहरुसँगै कुरा गर्नुस् भनेर उहाँहरु पन्छिनुभयो,’ अर्यालले भने ।

अनशनरत डा. केसीको स्वास्थ्य अवस्थामा तलमाथि भएको त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लिनुपर्ने बताए । शुक्रबारको वार्ता शिक्षामन्त्री पोखरेलले अवरुद्ध गरेको पनि अर्यालले आरोप लगाए । यसैबीच शिक्षामन्त्री पोखरेलले डा. केसीका मागहरुबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न सरकारी वार्ता टोली लिएर बालुवाटार गएका छन् ।

डा. केसीको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ पनि थप आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको छ ।


प्रकाशित : आश्विन २४, २०७७ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्