१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

झरीको पर्वाह नगरी घण्टौंसम्म पीसीआर परीक्षणका लागि लाइन [तस्बिरहरु]

तस्बिर: अंगद ढकाल

काठमाडौँ — गत आइतबारदेखि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गराउने सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । सरकारले लामो दुरीको सवारीसाधन चल्न दिएपछि र उपत्यका छिर्ने सर्वसाधारणको संख्यामा पनि वृद्धि आउँदा यस अस्पतालमा दिनहुँ सयौँको संख्यामा परीक्षण गराउन आउनेको भिडभाड हुन थालेको छ ।

विशेषगरी डेरवाल पीसीआर परीक्षण गर्न पुगेका छन् । घरबेटीले घरमा छिर्नु अगाडि अनिवार्य पीसीआर रिपोर्ट देखाउन भनेपछि यो झरीमा पनि एक दिन अगाडिदेखि लाइनमा बस्न बाध्य छन् उनीहरु । बुधबार अस्पताल पुग्दा परीक्षण गराउनेको लाइन निकै लामो थियो । झरीको पर्वाह नगरी घण्टौंसम्म लाइनमा बसिरहेका छन् । छाता हुनेले छाता आढेको देखिन्थे, नहुने यत्तिकै भिज्दै लाइन बसेका देखिन्छन् । कोही एक्लै त कोही परिवारसहित ।

परीक्षण गराउन आउने अधिकांश भारतीय र तराई मूलका रहेका छन् । अरु अस्पतालमा पीसीआर परीक्षणको २ हजार शुल्क तिर्नुपर्छ । टेकु अस्पतालमा भने ३० रुपैयाँमा दर्ता गरेर परीक्षणको सुविधा रहेको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पहिले २८० जनाको स्वाब संकलन गर्दै आएकोमा अहिले ६०० जनाको स्वाब संकलन गर्दै आएको बताए । उनले भने, ‘कर्मचारीले १८ घन्टौं काम गरेर भए पनि स्वाब संकलन बढाएका छन्, टेस्टिङ गाइडलाइनमा मात्र परेकालाई परीक्षण गरिन्छ अरुलाई परामर्श दिएर क्वारेन्टाइनमा बस्न सल्लाह दिन्छौं ।’

‘हामीले भीड थेग्नै नसक्ने भएका छौँ । भीडभाडमा सामाजिक दुरी छैन भनेर भनिएको छ तर हामीले भने पनि मानेको देखिँदैन । स्वाब संकलन गर्ने कि लाइन व्यवस्थापन गर्ने ? गरिब विपन्नहरुको दुःख देखेर हो । अरुतिर पैसा तिर्नुपर्छ । हेला गरिएका छन् । रातभरी अस्पतालमै बसेका छन् । दालमोठ चिउरा खाएर पसलको पेटीमा सुतिरहेका छन् ।’


प्रकाशित : आश्विन ७, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्