ढोरपाटन पहिरो : सडकमा सास्ती, बस्तीमा पीडा [तस्बिरहरू]

प्रकाश बराल

बागलुङ — भदौ १७ गते ढोरपाटन नगरपालिका–९ मा आएको बाढीपहिरोले सडक र बस्ती क्षतविक्षत छन् । दुई साता बित्दा पनि पीडितले पर्याप्त राहत पाउन सकेका छैनन् । उनीहरू ओतसम्म नपाएर बिचल्लीमा छन् । मृतकका परिवार शोकमग्न छन् भने बेपत्ताका परिवार सास न लासको अवस्थामा छन् । शव नभेटिँदा उनीहरूले प्रशासनबाट पाउने राहतसमेत पाउन सकेका छैनन् ।

भुजीखोलाको बाढीले लाँकुरीबोट, सुकुरदुङ, घट्टबोट, दुनापँधेरा, दुवाल र फलेघरका गरी १ सय २६ परिवार विस्थापित भएका छन् । उनीहरूमध्ये केहीले पाल टाँगेका छन् भने धेरैजसो गोठ र आफन्तको घरमा बसेका छन् । अधिकांश मानिस राहतको पर्खाइमा छन् । घटनाको भोलिपल्ट पुगेको अलिकति राहतबाहेक उनीहरूका हातमा थप केही पुगेको छैन । वडा कार्यालय र नगरपालिकामा सामान थुप्रिएका छन् । तर, एकद्वार प्रणालीको कारण वितरणमा ढिलाइ भएको छ । २२ जनाको मृत्यु भएको उक्त बाढीपहिरोमा १६ जना बेपत्ता छन् ।

बुर्तिवाङदेखि ढोरपाटनसम्मको झन्डै २० किमी सडक क्षतविक्षत छ । खोलाले बगाएकाले पैदल हिड्ने ट्र्याकसमेत छैन । खाद्यान्न किनेर ल्याएकाहरूले पनि कष्टकर यात्रा गरिरहेका छन् । अत्यावश्यक सेवाका लागि जोखिम मोलेर हिँड्नुपरेको छ । बालबालिका र बूढाबूढीका लागि अझै धेरै समय यात्रा गर्न कठिन हुने सम्भावना देखिएको वडा नं. ९ का अध्यक्ष हरिबहादुर घर्तीमगरले बताए । ‘सडक खुलाउने प्रयास भइरहेको छ तर जिप चढेर ढोरपाटन जाने दिन आउन अझै समय लाग्छ,’ उनले भने, ‘ट्र्याक्टर जाने बनाउन सकियो भने खाद्यान्न वितरणमा सजिलो हुन्छ ।’ वडामा थुप्रिएको सामान पीडितको घरमा लैजान पनि सडक अभाव भएको हो ।

बाढीले यहाँका दुईवटा विद्यालय बगाएको छ । कोरोनाका कारण विद्यालय बन्द हुँदा बालबालिकाले पढ्न–लेख्न पाएका थिएनन् । टोलटोलमा पुगेर पढाउने तयारी गरिए पनि बाढीपहिरोले ध्वस्त पारिदिएको ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले बताए ।

बाढीपीडितमध्ये अधिकांशको ढोरपाटनमा गोठ र खेतीपाती छ । खेती स्याहार्न जानेले पनि सास्ती खेपेका छन् । बालबालिका बोकेर उकालो लागे पनि खोलाको जोखिम, पहिरो र हिलोले हैरानी खेपेको पीडितले बताए ।


प्रकाशित : भाद्र ३०, २०७७ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्