१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मत्स्येन्द्रनाथको रथ सोह्रखुट्टे पाटी पुर्‍याइयो [तस्बिरहरु]

प्रशान्त माली, तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : इलिट जोशी

काठमाडौँ — रातो मत्स्येन्द्रनाथको रथ आइतबार पुल्चोकबाट तानेर त्यही अवस्थित स्तुपा नजिक सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ । मीननाथको रथ पनि गा:बहालबाट तानेर पुल्चोक ल्याइएको छ ।

अब २२ गते सोमबार पाटनबासीले भु:ज्या (मत्स्येन्द्रनाथ यात्राको क्रममा मनाइने एक प्रकारको पर्व) मनाउने अनि साइत हेर्ने र साइत प्राप्त भएमा २६ गते मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती पुर्‍याइनेछ । साइत जुरेकै दिन मीननाथको रथ पनि पुल्चोकबाट तानेर उनकै टंगल टोलस्थित मन्दिरमा पुर्‍याइनेछ ।

पाटनमा रातो मत्स्येन्द्रनाथ जात्रा विषेश गरी चार तवरबाट मनाइन्छ । पहिलो गा:बा: या: भनी रथ पुल्चोकबाट पाटन गा:बहाल पुगेपछि, नुग: या: भनी सुन्धारा, लग: या भनी लगनखेल र जावला या: भनी जावलाखेल पुगेपछि जात्रा गरिन्छ । लगनखेलमा रथको टुप्पोबाट नरिवल खसालिन्छ भने जावलाखेलमा भोटो देखाइन्छ ।

तर, कोभिड–१९ को कारणले यस वर्ष चारै तवरबाट मनाइने जात्रा पुल्चोकमा एकै पटक मनाइएको हो । रथ यात्रामा गुरुजु पल्टन, ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई भने राजकीय सम्मानका साथ समारोहस्थलमा पुर्‍याइएको छ ।जात्रामा अनिवार्य ल्याउनुपर्ने इन्द्रबाजा र गा:बहाल, सुनधारा, लगनखेल, जावलाखेलका धिमे बाजा सहभागी गराइएको थियो । मत्स्येन्द्रनाथ रथ यात्रामा सहभागी भएमा स्वर्गलोक, मत्र्यलोक भ्रमण तुल्य मानिने विश्वास गरिन्छ ।


प्रकाशित : भाद्र २१, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्