२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पुल्चोकबाट धमाःफल्चा पुर्‍याइयो मत्स्येन्द्रनाथ रथ [तस्बिरहरु]

प्रशान्त माली, तस्बिर : इलिट जोशी, तस्बिर : अंगद ढकाल

ललितपुर — रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका छन् ।

उपत्यकाका तीनै जिल्ला प्रशासनले यतिखेर कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्दै भिडभाड र भेला गर्न रोक लगाइरहेका छन् । तर, मत्स्येन्द्रनाथ जात्राको सरोकार सांस्कृतिक बाजागाजा गर्नुसँग मात्र नभएर रथ ६/६ महिना बुङ्मती र पाटनमा राख्ने परम्परा रहेको स्थानीय बताउँछन् । सरकारले अहिले बुङ्मती पुर्‍याउन चासो नदिएको उनीहरूको आरोप छ ।

मत्स्येन्द्रनाथलाई सूर्य दक्षिणायन (साउनदेखि) हुँदा बुङ्मती र उत्तरायण (माघदेखि) हुँदा पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा राख्नुपर्ने परम्परा छ । यो भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव मल्ल र कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजुको पालादेखि चल्दै आएको परम्परा हो ।

‘यात्राका लागि लाखौं रुपैया खर्चेर रथ निर्माण गरियो । अहिले अनिर्णयको बन्दी बनाएर मत्स्येन्द्रनाथलाई बिचल्लीमा छोडियो,’ स्थानीय पृथविन्दु महर्जन भन्छन् ।

मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिमदन जोशीका अनुसार असोज २ गतेबाट एकमहिने मलमास भएकाले रथयात्रा गर्न मिल्दैन । मलमास सकिएको चार दिनपछि दसैं सुरु हुन्छ । दसैंमा बुङ्मतीमा मत्स्येन्द्रनाथको विशेष पूजा गर्नुपर्छ । 

मत्स्येन्द्रनाथलाई साउन १० गते नागपञ्चमीमा पुल्चोकमा रथारोहण गरिएको थियो । परम्पराअनुसार रथारोहणको भोलिपल्ट रथ तान्नुपर्छ ।

प्रकाशित : भाद्र १८, २०७७ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्