गोंगबु घटना : आरोपित महिला सार्वजनिक

तस्बिर : इलिट जोशी

काठमाडौँ — गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बोहराको हत्यामा संलग्न आरोपित चितवन घर भएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेललाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

प्रहरीले बोहराको हत्यामा प्रयोग भएका विभिन्न औजार पनि सार्वजनिक गरेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पछि कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको कल्पनाले बयान दिएकी छिन् । दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको  खुल्न आएको पनि महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेको, टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर बाहिर निस्केको प्रहरीले बताएको छ । त्यसपछि कोठामा आएर टाउको र खुट्टा भएको प्लास्टिक बोकेर  बाहिर गएको पनि प्रहरी अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बोहराको मृत शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको प्रहरी स्रोतले बतायो । उनी भागेर माइती गएको बेला सोमबार दिउँसो टाँडीबाट पक्राउ परेकी थिइन् । घटनाका बारेमा प्रहरीले विस्तृत रुपमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


प्रकाशित : श्रावण २७, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्