१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सारसको रोमाञ्चक ‘नेस्टिङ’

मनोज पौडेल

रुपन्देही — खेतहरूमा भर्खरै रोपाइँको चटारो सकियो । कोरोनाका कारण गाउँबस्तीमा पनि उस्तो चहलपहल छैन । तर, छेवैका धापहरूमा बेग्लै सामसाम–सुमसुम चलिरहेको छ ।

बुद्धस्थल लुम्बिनी र तिलौराकोट आसपास क्षेत्रमा यति बेला दुर्लभ पक्षी सारसहरू ओथारो बसिरहेका छन् । लुम्बिनीको एकला, खुनगाई, पर्सा बजार, विभिन्न विहार र तिलौराकोटका गोटिहवा, निग्रोधाराम र बर्दहवालगायत ठाउँमा यस्ता दृश्य थुप्रै देखिन्छन् ।

उड्न सक्नेमध्ये सबैभन्दा ठूलो यो पक्षीले बच्चा कोरल्न गरेका संघर्ष र गतिविधि हेर्नेहरूका लागि पनि मोहक र रोमाञ्चक छन् । कहीँ एक त कहीँ दुई सातादेखि सारसहरू ओथारो बसिरहेका छन् ।

कसैले हानि–नोक्सानी नगरोस् भनेर यिनले पानी जमेको ठाउँको बीचमा झारपात र घाँस जम्मा पारेर त्यसैमा अण्डा राखेका छन् । बच्चा कोरल्न पोखरी, ताल, जंगली धान हुने सिमसार र धाप क्षेत्र रोजाइमा परेको छ ।

रूपन्देही र कपिलवस्तुका २५ भन्दा ठाउँमा यति बेला सारसहरू ओथारो बसेका छन् । पक्षीविद्हरूका अनुसार कोरल्नुअघि अण्डालाई निश्चित तापक्रममा राख्नुपर्ने र सुरक्षा पनि गर्नुपर्ने भएकाले सारसको जोडीमध्ये एकले गुाड छाड्दैनन् । अग्लो र चित्ताकर्षक चरा ओथारो बसेको र बच्चा हुर्काएको हेर्दा रमाइलो लाग्ने उनीहरू बताउँछन् ।

त्यस कारण यस क्षेत्रलाई सारस प्रजनन क्षेत्रका रूपमा विकास गरेर चरा पर्यटनबाट फाइदा लिन सकिने सम्भावना पनि उनीहरूले औंल्याएका छन् ।सारसले ३१ देखि ३४ दिनमा बच्चा हुर्काउने पक्षीविद् डा. हेमसागर बरालले बताए । वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित सूचीमा राखेका पक्षीका ९ प्रजातिमध्ये सारस एक हो ।


प्रकाशित : श्रावण २७, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्