‘क्युट’ केटो [फोटोफिचर]

रमेशकुमार पौडेल

चितवन — केटो अर्थात् गैंडाको बच्चा । बाघमारा मध्यवर्ती सामुदायिक वनमा अहिले एक जोडी केटोको निकै चकचकी छ । चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहाको आडैमा पर्छ, बाघमारा वन । सौराहा आएका अधिकांश पर्यटक यहाँ घुम्न जान्छन् ।

‘भगौडी’ नामको पोथी गैंडा मचान आडैको हरियो चौरमा चरिरहेको भेटिन्छ । उसको आडैमा छ, १५/२० दिनको सानो गैंडा । केटो माउ छाडेर धेरै पर जाँदैन । बेलाबेला दूध चुस्छ । चौरमै यताउता गर्छ, थाके त्यहीँ पल्टन्छ । सँगै छ, अर्को तिखे माउ । तिखेसँग पनि महिनादिन जतिको केटो छ ।

१८ वर्षदेखि बाघमारामा वन हेरालु रहेका तमबहादुर तामाङ दुईवटा गैंडाले एकै पटक बच्चा जन्माएको यो पहिलो घटना भएको बताउँछन् । अर्को सिङबाङ्गे माउ पनि बच्चा जन्माउन तयारी अवस्थामा रहेको वन अध्यक्ष जितु तामाङले जानकारी दिए ।

‘आठ १० दिनभित्रै वनमा तीनवटा केटोको चहलपहल देख्न पाइनेछ,’ उनले भने । २१५ हेक्टरको यो वनमा अनेक जीवजन्तु पाइन्छ । यहाँ स्थायी रूपले बस्ने गैंडा मात्रै आठवटा छन् । बेलाबेलामा अन्यत्रबाट पनि ५/७ वटा गैंडा आउने जाने गर्छन् ।


प्रकाशित : श्रावण २२, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्