बाटो हिँड्दा पक्राउ गर्न थालिएपछि चौकीअघि प्रदर्शन

काठमाडौँ — शुक्रबार र शनिबार प्रधानमन्त्री निवास क्षेत्र वरपर प्रदर्शनका लागि जम्मा हुँदा बाटो हिँड्ने बटुवालाई समेत प्रहरीले समाएपछि 'इनफ इज इनफ'का युवाहरुले आइतबार भने प्रहरी चौकीकै अघिल्तिर प्रदर्शन गरे । 'यसै समाउने उसै समाउने' भन्दै उनीहरुले बेकारमा प्रहरीलाई दुख र इन्धन खर्च नगराउँ भन्दै सोझै समाएर जहाँ लैजाने हो त्यहीं मालीगाउँको प्रहरी चौकी अघि भेला हुन प्रदर्शनकारीहरुलाई आव्हान गरेका थिए ।


यसैअनुरुप युवाहरु 'मेरो अधिकारका लागि खडा हुँदा मलाई गिरफ्तार गर' भन्ने प्लेकार्डसहित प्रहरी चौकी अघि प्रदर्शनमा उत्रिए । तर, आफ्नै ढोकामा आएका यी युवाहरुलाई आज भने प्रहरीले गिरफ्तार गरेन । उनीहरुको पम्पलेट र प्लेकार्ड खोसेर तितरवितर भने पार्यो । कोरोना रोकथाममा लापरबाही र भ्रष्टाचार भएको भन्दै युवाहरुको समूह सरकार विरोधी आन्दोलनमा सक्रिय छ । यही अभियानका ई: लगायत १६ दिनदेखि बसन्तपुरमा अनसनमा छन् ।



