कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रातो मत्स्येन्द्रनाथको रथारोहण [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथारोहण शनिबार नागपञ्चमीको शुभसाइतमा पुल्चोकमा गराइयो । रथारोहण गराउन मत्स्येन्द्रनाथलाई त:बहालदेखि खटमा राखी पुल्चोकमा पुर्‍याइएको थियो । तिथि अनुसार रथारोहण वैशाख शुक्ल प्रतिपदा अर्थात बैशाख १२ गते गर्नुपर्दथ्र्यो । तर, यस वर्ष कोभिड–१९ महामारी रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारणले रोकिएको थियो ।

परम्परा अनुसार रथारोहणको चार दिनभित्र रथ यात्रा सुरु गर्नुपर्छ । तर, यस वर्ष लकडाउन पूरै खोलेपछि मात्र यात्रा गरिने ललितपुर गुठी संस्थान प्रमुख राजन भुजुले बताए । ‘मत्स्येन्द्रनाथलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा बाजागाजासहित पुर्‍याउने चलन छ,’ उनले भने, ‘यस पटक बाजागाजा सहभागी गराइएन् ।’

रथारोहण गर्न मत्स्येन्द्रनाथलाई भारतको कामरुकामक्ष पर्वतबाट ल्याउने मध्येका एक तान्त्रिक बन्धुदत्त आचाजुकै विधिअनुसार रथ निर्माण गरिएको थियो । रथ त्रयोदशी भुवनको प्रतिकका रूपमा १३ तला, ३२ लक्षणका रूपमा ३२ हात अग्लो, ३२ हात लामो बनाइएको छ । रथमा हयग्रव भैरव, लप्तसेहार, हरिसिद्धि र चन्द्रभैरवका प्रतिकका रूपमा ठूला ४ पांग्रा जडान गरिएको छ । रथको मुनिपट्टि बीच भागमा कर्कटक नागराजको प्रतिकका रूपमा लामो काठ राखिएको छ । जसलाई नेपाल भाषामा ‘ध:मा:’ भनिन्छ ।

रथको टुप्पोमा ‘बाय्मो’ राखिएको छ । जसमा स्वयम्भूबाट साधना गरी ल्याइएको अमिताभ बुद्धलाई राखिएको छ । गजुरमा सबै प्राणीको रक्षाका लागि लोकेश्वरको षडारी मन्त्र ‘ऊँ मणि पद्मे हुँ’ लेखिएको झन्डा फहराइएको छ । रथारोहणमा गुरुजु पल्टन र पाटनका तत्कालिन राजा सिद्धिनरसिह मल्लको ऐतिहासिक खड्ग पनि सहभागी गराइएको थियो । नेपालमा बाह्र वर्षसम्म पानी नपरी अनिकाल परेकाले वृष्टि गराउन मत्स्येन्द्रनाथलाई भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र ललितपुरका ज्यापु रथ भक्त भइ भारत, असमको कामरुप कामाक्षबाट ल्याइएको लोककथन छ ।


प्रकाशित : श्रावण १०, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्