१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

लकडाउनबीच मनाइयो गथांमुग: पर्व [तस्बिरहरु]

तस्बिर : इलिट जोशी, तस्बिर : बिजु महर्जन

भक्तपुर — लकडाउनका बीच नेवार समुदायले साउन कृष्ण चतुर्दशीका दिन आइतबार गथांमुग: (घण्टाकर्ण) पर्व मनाएको छ । चतुर्दशीका दिन मनाउने यस पर्वमा विशेष गरी घर/घरमा भुत पन्छाउने गरिन्छ । यस दिन बिहानै घर नजिकको महादेव मन्दिरबाट ल्याएको जलले अभिशेक गर्ने प्रचलन रहँदै आएको छ ।

घर, परिवारलाई भूतप्रेतबाट मुक्त गर्न दिन नेवार समुदायले घरघरबाट बौ वाय् ज्या (भूत पन्छाउने) गरिन्छ । बौ वाय् ज्या मा काँचो माटोको सानो दहीको कटारोमा कर्कलो, धुस्वाँ, बौ स्वाँ, आरुको बोटको हाँगा सहितको छ्वाली बालेर छ्वास (दोबाटो) वा चौबाटोमा लगेर राखिन्छ । गथांमुग: कै दिन घरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जन विश्वास छ । गथांमुग: को दिन फलाम वा तामाको औंठी लगाउने चलन छ ।

टोल/टोलमा नर्कट र छ्वालीको मानवाकृत यूक्त राक्षसको प्रतिक बनाई साँझपख नजिक तथा खोलामा लगेर जलाइन्छ । त्यसपछि घर/घरबाट छ्वालीको चिराग बालेर छ्वास वा चौबाटोमा लगेर सेलाइने प्रचलन छ ।

१४ औं शताब्दीको गोपाल राजवंशीमा गथांमुग: मनाएको उल्लेख भए अनुसार परापुर्वकाल देखि नै गथांमुग: पर्व मनाउन थालेको संस्कृतिकर्मी बताउँछन् । गथांमगु:का दिन वर्षौंदेखि दु:ख दिने राक्षसलाई समातेर दिनभर चोकमा उभ्याएर साँझ पख खोलामा लगेर फालिएको सम्झनामा घण्टाकर्ण पर्व मनाउने गरिएको हो । भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनिकरणका लागि भन्दै गथांमुग: र गाईजात्रा पर्वलाई औपचारिक पुजाआजामा मात्र सिमित गर्न अनुरोध गरे पनि स्थानीयले भने नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाएर जलाएको छ ।


प्रकाशित : श्रावण ४, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्