वर्षात्‌मा उपत्यकाको जनजीवन [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आइतबारदेखि मुलुकका विभिन्न स्थानमा पानी परेको छ । विभागले साउन ४ देखि ८ गतेसम्म मुलुकका धेरैजसो ठाउँमा हल्कादेखि सामान्य र कतिपय ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । यसले पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका कतिपय ठाउँमा बाढी तथा डुबानको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि परेको पानीले जनजीवनमा असर पुर्‍याएको छ । ललितपुरको पाटनको कतिपय गल्ली र सडकमा भने ढल व्यवस्थापन नहुँदा पानी जमेका कारण यात्रुहरुले सास्ती बेहोर्नु परेको छ ।

जल तथा मौसम विज्ञान विभागले मौसमी प्रणालीको विश्लेषण गर्दा प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुन सक्ने बताएको छ । कर्णाली तथा सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने र धेरैजसो ठाउँमा हल्कादेखि मध्यमस्तरको वर्षा हुने पनि विभागले जनाएको छ । देशका एक दुई ठाउँमा अति भारी वर्षा हुने पूर्वानुमान गरिएको र पाँच दिनसम्म पर्ने यो पानीले देशभरमा साना–ठूला नदीहरुको जलसतह पनि उल्लेख्य रुपमा बढ्ने विभागले जनाएको छ । केही नदीले सतर्कता तहसमेत पार गर्ने सम्भावना छ ।


प्रकाशित : श्रावण ४, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्