कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरिया जान पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भए पनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

२ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारभन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी रामहरि देवकोटाले बताए । सरकारले आफ्ना मागहरु पूरा नगरे पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनले बताए ।

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर’, गरी खान दे सरकार, ‘उडान खोली जान दे सरकार’,‘प्रधानमन्त्रीज्यू, बाले गरिखाने थलो बेचे, हामीलाई गरिखाने थलो जान देउ’, ‘सरकार सक्छौ भने देशमै देउ रोजगार, सक्दैनौं भने लाखौं बेरोजगार युवाहरुको भविष्य नबिगार’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए । 

प्रकाशित : असार २४, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्

दार्चुलाको खलंगा र जौलजिवी नाका ३ दिनका लागि खुला

मनोज बडू

दार्चुला — भारतको पिथौरागढ जिल्लासित सीमा जोडिएका दार्चुलाको जौलजिवी र सदरमुकामको खलंगा झोलुंगे पुल बुधबारबाट खुलेका छन् । भारतमा पेन्सन बुझ्ने नेपाली र दुवैतर्फ अलपत्र परेकालाई आवतजावत गर्न दिनेगरी तीन दिनका लागि झोलुंगे पुल खोलिएको हो ।

लकडाउनका कारण गत चैत ११ गतेदेखि नेपाल–भारत जोड्ने सीमानाका बन्द हुँदा भारतीय भूतपूर्व सैनिकहरुले पेन्सन बुझ्न सकिरहेका थिएनन् । लामो समयदेखि अन्तर्राष्ट्रिय नाका बन्द हुँदा भारतीय पेन्सनरहरुलाई धेरै समस्या भएकाले नाका खोलिएको जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सूचनामा बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म र दिउसो ३ देखि बेलुका ६ बजेसम्म पुल खुला रहने जनाए पनि खलंगाको झोलुंगे पुल बिहान ११ बजेदेखि १२ बजेसम्म मात्रै खुला गरिएको थियो । अब फेरि ३ बजे नाका खुला गरिने जिल्ला प्रशासनका नायब सुब्बा पदमराज भट्टले बताए ।

त्यस्तै मालिकार्जुन गाउँपालिका ७ जौलजिवीस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुल पनि खुला गरिएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा मालिकार्जुन र लेकम गाउपाँलिकामा भारतीय भूपू सैनिक बढी रहेका छन् ।

त्यस्तै सीमामा अलपत्र परेका मानिसहरुलाई नेपाल आउन चाहने र भारत जान चाहनेहरुलाई पनि दुवैतिरका प्रशासनको समन्वयमा नाका खोलिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ प्रशासनलाई पत्राचार गरेर तीन दिनलाई पुल खुला गर्न आग्रह गरेको थियो । जिल्लाका केही स्थानीय तहले जिल्ला प्रशासनलाई भारतीय पक्षसँग आग्रह गर्न पत्राचार गरेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : असार २४, २०७७ १३:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×