कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीमा बगेकाको उद्धार गर्न सशस्त्रको अभ्यास [तस्बिरहरु]

शिव पुरी

नुनथर,रौतहट — चन्द्रपुर–१ स्थित पर्यटकीय नुनथर क्षेत्रमा शुक्रबार दिउँसो गाडीहरुको लाइन थियो । सशस्त्र प्रहरी बल नेपाल–२ नम्बर छिन्नमस्ता बाहिनी बर्दिबास अन्तर्गत आठवटै जिल्लाहरुमा बाढी र पहिरोपछि डुबानका बेला गरिने उद्धार कार्यक्रमको नमुना प्रदर्शन गरिएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि थिए प्रदेश २ का समाजिक मन्त्री ज्ञानेन्द्रकुमार यादव । कार्यक्रममा सशस्त्रका डीआईजी राजु अर्यालको स्वागत मन्तव्य सकिएपछि नजिकै रहेको वाग्मती नदीले बगाएर ल्याउँदै गरेको मानिसले ‘बचाउ बचाउ’ भन्दै चिच्याएको आवाज सुनियाे । त्यहाँ उपस्थित सबैको होसहवास उड्यो । सबै नदीतिर हेर्न थाले । सशस्त्र प्रहरीको उद्धार टोली झोलंगे पुल माथिबाट तल हामफालेर उद्धार गरे । त्यसको लगत्तै अरु ५ जना बगाएर आउँदै गर्दा उनीहरुलाई पनि उद्धार गरियो । केही घाइते भएका थिए । सशस्त्रको चिकित्सकसहितको टोलीले घाइतेलाई उपचार गरे । एकजना गम्भीर घाइतेलाई थप उपचारको लागि नदीबाट माथि डाँडासम्म पुर्‍याउन निकै कष्ट व्यहोर्नु पर्‍यो । यी दृश्यहरु वास्तविक भने होइनन् ।

जल उत्पन्न प्रकोप उद्धार अनुशिक्षण तालिमको डेमो (नमुना) प्रदर्शन समारोहमा विपद् र विपदपश्चात तत्काल उद्धार गर्न तालिमप्राप्त उद्धारकहरुले आफ्नो कला प्रदर्शन गरेका थिए ।

कार्यक्रममा उपस्थिति अधिकांशले पछि मात्र थाहा पाए कि बगाएका भनिएकाहरु सशस्त्र प्रहरी नै थिए । उद्धारका क्रममा सशस्त्र प्रहरीका उद्धारक चढेको मोटरबोट नै पल्टिँदा सबैको अनुहारमा निराशा देखिन्थ्यो । पल्टेको बोटलाई निकै होसियारीपूर्वक यथास्थितिमा ल्याइएको दृश्य निकै मार्मिक थियो ।

वाग्मती नदीले स्थानीयको घर र मानिस बगाएको देखाइएको थियो । कार्यक्रममा नेपाल प्रहरीका डीआईजी धिरजप्रताप सिह, नेपाल सेनाका अधिकृतहरु आएका थिए । सशस्त्र प्रहरी प्रदेश २ मा मात्र १ सय ३५ जना तालीमप्राप्त उद्धार टोली तयारी अवस्थामा रहेको सशस्त्रका डीआईजी अर्यालले सुनाए । ‘वाग्मती नदीमा पानीको बहाब पनि धेरै रहेकोले यसलाई तालिम केन्द्रको रुपमा विकास गर्न सकिन्छ,’उनले भने, ‘यस विषयमा प्रदेश सरकारसित कुरा राख्छु ।’

सबै तस्बिरहरु : शिव पुरी/कान्तिपुर


प्रकाशित : असार १९, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले बगाएर युवा बेपत्ता

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको कञ्चन गाउँपालिका ४ स्थित भैरघाटको नदीमा १७ वर्षीय युवा बेपत्ता भएका छन् ।

कञ्चन नदीको ढावा किनारमा पौडी खेल्ने क्रममा कञ्चन ४ प्रगतिचोक बस्ने टेकबहादुर थापाका १७ वर्षीय छोरा अर्जुन थापालाई नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए । शुक्रबार दिउँसो करिब १२ बजे स्थानीय केही युवा पौडी खेल्न गएको र त्यस क्रममा थापालाई नदीमा एक्कासी आएको बाढीले बगाएरको प्रवक्ता खत्रीले बताए ।

बेपत्ता भएका थापाको खोजी गर्न गाह्रो भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १९, २०७७ १८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×