कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरको पाँचतले मन्दिर जीर्णोद्धार गर्न उर्लिए स्थानीय [तस्बिरहरू]

लीला श्रेष्ठ, तस्बिर : बिजु महर्जन

भक्तपुर — कोही माटो मुछ्दै छन् त कोही त्यसैको डल्ला बनाउँदै । लाम लागेर तिनै माटोका डल्ला र इँटा पास गर्दै छानासम्म पुर्‍याउन ठेलमठेल नै छ । भक्तपुरको पाँचतले (न्यातपोल) मन्दिर जीर्णोद्धारका लागि बनाइएको बाँसको खटमा लामबद्ध भई स्थानीय महिला, पुरुषहरू छाना छाउन सघाइरहेका छन् । मन्दिर जीर्णोद्धारका लागि श्रमदानमा आएका उनीहरू काम गर्न तँछाडमछाड गरेको देखिन्छ ।

मन्दिर जीर्णोद्धार उपभोक्ता समिति अध्यक्ष केशव तमखुका अनुसार मंगलबारसम्ममा ४५ वटा समूहबाट २ हजार ७ सयभन्दा बढीले श्रमदान गरिसकेका छन् । मन्दिर जीर्णोद्धार गर्न आउनेमा महिला बढी छन् । हरेक घरबाट कम्तीमा एक जना श्रमदान गर्न आएका छन् । श्रमदानमा आउनेहरू आफैं खाजा ल्याउँछन् । श्रम गर्न नभ्याउनेले श्रमदानमा खटिएकाहरूलाई खाजा, पानी दिनसमेत आउने गरेकाे तमखुले बताए ।

पुनर्निर्माणका लागि स्थानीयले निर्माण सामग्री र नगद पनि सहयोग गरेका छन् । उनका अनुसार हालसम्म करिब १० लाख रुपैयाँ नगद र १५ हजार झिँगटी, इँटा (क्वपु), ग्वंग अ:पालगायत सहयोग प्राप्त भएको छ । २०७२ वैशाखको भूकम्पले क्षति पुगेको विश्वसम्पदामा सूचीकृत उक्त मन्दिर जीर्णोद्धारका लागि भक्तपुर नगरपालिकाले ६५ लाख १३ हजार रुपैयाँ विनियोजन गरेको छ । उपभोक्ता समितिमार्फत गत मंसिर २५ मा सुरु भएको जीर्णोद्धारको काम यही महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नगरप्रमुख सुनिल प्रजापति बताउँछन् ।


प्रकाशित : असार १७, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्