पाटनमा सरकारको विरोध भिन्न शैलीमा [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले राम्रोसँग काम नगरेको भन्दै मंगलबार पाटन दरबार स्‍क्वायर क्षेत्रमा भिन्‍न शैलीमा सरकारको विरोध गरिएको छ । केहीले भौतिक दूरी कायम गरेर विरोध गरे भने कलाकारहरुले सडक नाटक मार्फत । प्रदर्शनकै क्रममा एक जना व्यक्तिले भने एक घन्टासम्म पाटन दरबार क्षेत्रभित्र कुदेर विरोध गरे । उनीहरुले सरकारलले कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको,परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए ।


प्रकाशित : असार १६, २०७७ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्

पेट्रोलको मूल्य ५ रुपैयाँ बढ्यो

डिजेल र मटितेलमा २/२ रुपैयाँ वृद्धि
राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको हो ।

‘भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैसा बढेर आएको छ,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘मंगलबारको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाउने निर्णय गरेका छौं ।’ नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुने उनले जानकारी दिए ।

खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ ।

पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको छ ।

प्रकाशित : असार १६, २०७७ २१:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×