बह्रीया, बह्रैया सिमसार [तस्बिरहरु]

ठाकुरसिंह थारु, तस्बिर : अंगद ढकाल

बर्दिया — थारु भाषामा 'बह्रिया' भन्‍नाले निकै सुन्दर भन्‍ने बुझिन्छ । ढकमक्क कमलको फूलले ढाकिएको विशाल तालको सुन्दरता देखेरै स्थानीयले तालको नामै 'बह्रैया' राखे । संघीयता आएपछि १ सय १० बिगाहा क्षेत्रफलमा फैलिएको यही तालको नामबाट गाउँपालिकाको नाम राखियो । थारु भाषाको 'बह्रीया'लाई नेपाली भाषामा 'बढैया' लेखियो र गाउँपालिकाको नाम रहृयो 'बढैयाताल'।

वडा नम्बर ५ मा पर्ने यो तालमा यतिबेला कमलको फूलले ढकमक्कै ढाकिएको छ । टेलुनीयाको फूल मगमगाउँछ । सेल्की, गेजरा, भँसेर लगायतका अनगिन्ती पानीमा पाइने जडिबुटी तालमा पाइन्छ । स्थानीयका अनुसार तालमा सरास, साइबेरिन, हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउँ, टिमटिमा, मलाह चिल, माटी कोरी जस्ता ३१ बढी प्रजातिका चराहरु पाइन्छन् ।

त्यस्तै डुबुल्की, जलेवा, चखेवा, ७ प्रजातिका बकुल्ला, लाल टाउके गरुड, करी सावरी, सिलसिले, खडखडे हाँस,बिजुलागैरी, हरियो टाउके, सुइपुच्छे, सिम कुखुरा लगायत प्रजातिका चरा पनि यहाँ देख्‍न पाइन्छ । स्थानीयहरु तालमा साइबेरिया र भारतबाट पनि चराहरु आउने गरेका छन् ।

तालको संरक्षणमा रैथाने थारु समुदायको परम्परा जोडिएको छ । तालमा पस्‍नुअघि स्थानीयले कमलको फूल टिपेर शंकर र पार्वती (लगवालगीनीया) लाई चढाउँछन् । शकर र पार्वती बह्रैयातालमा नाग र नागिनको अवरणमा घुम्‍न आएको जनविश्वास रहेको छ । मासिकश्राव भएका बेला महिलाहरु तालमा पस्न पाउँदैनन् । फोहोर गर्न निषेध गरिएको छ । सिनो फाल्न पाइदैन । मलामीहरुलाई तालमा नुहाउन पूर्णरुपमा रोक लगाइएको छ । मासिकश्राव भएका महिला तालमा पसे, मलामीले नुहाए निकै ठूलो अनिष्ट हुने जनविश्वास छ ।

तालमा कछुवा, घोंघी, साल, बोम्ली, टेग्‍नी, सिंगी, मँगुर, सेधुरी, खेस्टी लगायतका स्थानीय प्रजातिका माछाहरु पाउन सकिन्छ । प्रचारप्रसार अभावमा ओझेलमा रहेको यस क्षेत्रकै बढैयाताललाई सिमसार क्षेत्रकारुपमा विकास गर्न अन्तर्राष्ट्रिय पर्यापर्यटन विशेषज्ञहरुले चासो देखाउन थालेका छन् । स्वतन्त्र विश्व कोषका अनुसार पानीले राम्रोसित भिजेको ठाउँ, अत्याधिक आद्रता भएको जमिन, जहाँ पानीको सतह र जमीन करिब करिब एउटै स्तरमा हुने र बोटबिरुवाको अस्तित्व रहेको, पानी नसुक्ने रसिलो जमिन क्षेत्रलाई सिमसारका रुपमा परिभाषित गरिएको छ ।

नेपालको राष्ट्रिय सीमसार नीति २०५९ अनुसार जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको दलदल क्षेत्र हो । त्यसमा धाप लगायतका नदीको बाँध क्षेत्र, ताल, पोखरी, जलाशय एंव धानवाली समेत पर्छ । यी सबै दृष्टिकोणले बढैया ताल सीमसारका लागि उपयुक्त छ । गाउँपालिकाले पनि ताललाई पर्यटकीय क्षेत्रका लागि पहल थालेको छ । तर केन्द्र सरकारको लगानी बिना सम्भव छैन । बढैयाताल गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठले ताललाई सीमसारका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको बताउँछन् । उनले सीमसारको रुपमा विकास गर्न सके अन्तर्राष्ट्रियस्तरमा पहिचान पाउने विश्‍वास व्यक्त गर्छन् ।

स्थानीय सरकार आउनुअघि तत्कालीन जिल्ला विकास समिति बर्दियाले तालमा व्यवसायिक माछापालका लागि ठेक्का दिएपछि तालको अस्तित्व नै धरापमा परेको थियो ।


प्रकाशित : असार ९, २०७७ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्