राजमार्ग छेउछाउका अनेकन तगाराहरु [फोटो फिचर]

जनकराज सापकोटा, तस्बिर : अंगद ढकाल

काठमाडौँ — सामान्य दिन हुन्थ्यो भने काठमाडौं–नारायणगढ सडक खण्ड छिचोल्दा भेटिने अनेकौं स–साना बजार र तिनको रैथाने चहलपहल हेर्दा हेर्दै बाटो कटेको पत्तै हुदैनथ्यो । गतिशिल यस्ता बजार छेउछाउमा गाडी रोक्न मात्रै खोजियो भने पनि रेष्टुरेन्टवालाहरुले आउनुस हजुर, हात मुख धुने ठाउँ यता, पिसाब फेर्न ठाउँ त्यता भन्दै बोलाउन आइहाल्थे ।

अझै माछाको लागि प्रसिद्ध मानिएको मलेखुका दर्जनौं रेष्टुरेन्टले त ग्राहक तान्न तछाड मछाड गरिरहेको हुन्थे । माछा फ्राईको तिख्खर गन्ध मुल सडक सम्मै आइरहेको हुन्थ्यो । त्रिशुली नदी किनार छेउका कैयन छाप्रामा नुन खुर्सानी दलेको हरियो काक्रोको स्वाद लिन पाइन्थ्यो । कतै वरीपरीका गाउँबाट ल्याइएको पहेंलो लोकल केरा बेच्‍न राखेको देख्‍न पाइन्थ्यो । उखुका लाक्रादेखि छेउछाउका गाउँबाट ल्याइएको हरियो परियो तरकारी किन्‍ने र बेच्‍नेको भिडले स–साना बजार पनि गुल्जार देखिन्थे ।

तर लकडाउनका बीचमा काठमाडौंबाट चितवनसम्मै पुग्दा र सोही बाटो भएर एक सातापछि फर्किदा मुल सडक चकमन्न देखियो । सडक छेउछाउका रेष्टुरेन्ट र होटलवालाहरुले आफूकहाँ कोही आइहाल्ला र संक्रमण फैलाउला भन्ने भयले तगारो हालेका थिए । कसैले डोरी टागेर, कसैले थोत्रा टायर राखेर त कसैले कपडा झुण्डाएर मुल सडक छेउबाटै बार लगाएका थिए । प्रत्येक स–साना बजारमा अनौठो शुन्यता देखिन्थ्यो । त्यहाँ देखिएका एकाध मान्छे पनि हामीले फोटो खिच्न गाडी रोकेको देख्दा तर्सेजस्तो गर्थे ।

आफ्नो दोकान अघि कसैले स–साना घोचा गाडेर डोरी टाँगेका थिए । कसैले डोरी टाँगिएको परैबाट देखियोस् भनेर होला त्यसमा पुराना मिनरल वाटरका बोतल झुण्डाएका थिए । कसै कसैले त बिहेमा वा शुभ कार्यमा टाँग्‍ने जस्ता झिलझिले प्लास्टिकको डोरी टाँगेका थिए । कसै–कसैले भने आफ्नो होटल वा रेष्टुरा अघि कसैले गाडी रोक्न नसकून् भनेर होला मुढा वा ढुंगा तेर्साएका थिए । यस्ता अनेकन रंगका अनेकन तगारोहरु देख्दा कोरोनाको भयलाई नजिकबाट बुझन सकिन्थ्यो ।

कोरोना संक्रमणको भय कहिले सकिन्छ ? अनि कहिलेबाट यस्ता बजारहरु पुरानै लयमा फर्किएलान ? सुनसान सडकमा हिँड्दाको नमज्जा कहिले सकिएला ? मनमा यस्तै प्रश्न खेलाएर अघि बढिरहँदा एउटा घुम्तीको होर्डिङ बोर्डमा लेखिएका अक्षरमा टक्क आँखा अडिए । अंग्रेजीमा लेखिएको थियो, ‘गो कोरोना ।’ के कोरोना यति सजिलै हामीबाट जाला त ? यसको उत्तर न त कसैसँग थियो न त सुनसान राजमार्गमा कसैले बोकेर हिँड्नेवाला थियो ।


प्रकाशित : असार ७, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्