कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना कहरभित्रका मन भुलाउने दृश्य

शब्द/तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — जनसंख्याका हिसाबले प्रदेश २ सबैभन्दा दोस्रो ठूलो प्रदेश हो । कोभिड–१९ का संक्रमितको संख्या पनि धेरै रहेको प्रदेश २ मा लकडाउनको असरसमेत उस्तै छ । हामी रिपोर्टिङका क्रममा प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्लामा गएका थियाैं । यी क्षेत्रको रिपोर्टिङका क्रममा धेरै मान्छेमा निराशा भेटियो । फोटोपत्रकारका नाताले यी सबै दृश्य मैले क्यमेरामा आँसु पुछ्दै भएपनि कैद गर्नुपर्ने थियो । किनभने यथार्थ देखाउनु नै मेरो पेसाको दायित्व हो । अरु बेलाजस्तो सहज अवस्था थिएन, कोरोनाको कहरकै बीचमा काम गरिरहेका थियाैं। त्यहाँका मानिसमा कतै आक्रोश, कतै भोक त कतै शोक भएको तस्बिर त मैले खिचेकै थिएँ । साथसाथै मानिसहरु आफ्नो लयमा फर्किरहेको दृश्य पनि यात्राका क्रममा भेटिए । प्रदेश २ मा ८ दिन बस्दा मैले देखेका केही सम्भावना र केही आशाका तस्बिरहरु ।

सप्तरीको कंचनरुप -५ पथरीका स्थानीय महिला मास्क नभएपछि साडीको सप्कोलाई मास्क बनाएर साँझपख कल्भर्टमा आफ्नी छोरीसँग सुस्ताउँदै । दैनिक ज्याला मजदुरीमा आश्रित यहाँका मानिसहरुलाई लकडनउनले गर्दा छाक टार्न धौधौ परेको छ ।

सप्तरीको कंचनरुप -५ पथरीकी एक महिला नजिकैको जंगलबाट दाउरा लिएर घरतिर जाँदै । यहाँका मानिसहरुले खाना बनाउनका लागि दाउराबाहेक अरु कुनै विकल्प छैन।

सप्तरीको छिन्नमस्ता गाउँपलिका सखडास्थित छिन्नमस्ता भगवती मन्दिरमा पूजा गर्न जाँदै स्थानिय महिलाहरु । कोरोनाबाट बच्न तथा विभिन्न रोगबाट बाँच्न मन्दिरमा र नदीहरुमा पूजा गर्ने चलन मधेसमा छ ।

सप्तरीको हनुमान् नगर कन्कालिनी नगरपालिका–१४ को रामपुरआ मल्हनियामा ड्युटीमा बसेका सशस्त्र प्रहरिका जवान । यो क्षेत्र सिमनामा पर्ने भएकोले भारततिरबाट आनेहरु निर्बाध रुपमा नछिरुन भनेर सशस्त्र प्रहरी खटाइएको छ।

कोसी ब्यारेजमा माछा मार्दै स्थानीय । लकडाउनले गर्दा कोसी वारीपारी रहेका सबै माछा पसल बन्द छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाकाे सडकमा आँप बेच्न बसेका महिला । अहिले तराईमा प्रतिकिलो २० रुपैयाँमा बिक्री भइरहेको छ । लकडाउनले गर्दा बजार क्षेत्र सबै बन्द छन् । त्यसैले पोहोरको तुलनामा अहिले आँपको भाउ घटेको छ ।

सिराहा लाहान -४ झुट्कीका बालबालिका । लकडाउनले गर्दा स्कुल बन्द भएपछि उनीहरु घरमै बस्न बाध्य भएका छन् ।

रौतहट, राजपुर नगरपालिकाको हजिमनिया गाउँमा आँप टिप्दै गरेका स्थानीय ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ कुसाहाका स्थानीय गाई–बाख्रा चराउन जाँदै ।

सप्तरी जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिका माधवापुर गाउँमा लिची टिप्दै एक स्थानीय ।

सप्तरी जिल्लाको कल्याणपुरमा तरकारी बिक्री गर्दै स्थानीय महिला । उत्पादन स्थानीय बजारमा बिक्री नभएपछि किसानहरु चिन्तित छन् ।

सिराहा लाहान-४ झुट्कीका किसान बजारमा साग बिक्री गर्न जान नपाएपछि बस्तुभाउलाई दिने गर्छन् । लकडाउनका कारणले गर्दा पुलिसले बजार जान नदिएपछि किसानको लगानी सबै खेर गएको छ ।

धनुषा जिल्लाको जनकपुर रेल स्टेसन हुँदै खाली खुट्टा तरकारी टाउकोमा राखेर बिक्रीको लागि लिए जाँदै स्थानीय महिला ।

धनुषाको दसगजा क्षेत्रको जमुनीघाटमा भैंसीलाई नुहाइदिँदै एक महिला । तराईमा गर्मी बढेसँगै भैंसीलाई नजिकैका तलाउ–पाेखरीमा लगेर नुहाइदिने गरिन्छ ।

धनुषाको दसगजा क्षेत्रको जमुनीघाटकाे स्थानीय खोलामा जाल हान्दै मछवारा ।

धनुषाको दसगजा क्षेत्रको जमुनीघाटकाे स्थानीय खोलामा जाल हानेपछी माछा टिप्दै मछवारा ।

सिराहा लाहानका एक स्थानीय भैंसी माथि चढेर भैंसी चराउन जाँदै ।


प्रकाशित : असार ५, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्

फाइट नाइट

शब्द/तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

नेपालमा भर्खरै फाइट कल्चर सुरु भएको छ । गत शनिबार जिमखाना मुवाथाईले ठमेलको एलओडीमा फाइट नाइट आयोजना गरेको हो । यो फाइटको तेस्रो संस्करण हो । फाइट हेर्न दर्शकको भीड थियो । त्यसमा पनि युवा पुस्ता बढी थिए । मुवाथाई र बक्सिङका चार/चार फाइट खेलाइएको थियो । जसमा भारत र थाइल्यान्डका एक/एक जनासहित १६ जनाको सहभागिता थियो । 

मुख्य इभेन्टको मुवाथाईका ६० केजी तौलमा नेपालका करण वज्राचार्य र थाइल्यान्डका फाफायाओ सोरसोरजिराडेजको खेल प्रमुख आकर्षण थिए । फाफाओले करणलाई घाइते बनाउँदै जित आफ्नो पोल्टामा पार्न सफल भए । सहायक इभेन्टअन्तर्गतको बक्सिङमा ६५ केजी तौलमा नेपालका मनीष डंगोल (डाँकु) ले भारतका शिव कुमारलाई पहिलो चरणमै नकआउट गरे । 

प्रत्येक फाइटको विजेताले २५ हजार र उपविजेताले २५ हजार नगद पुरस्कार हात पारे । उक्त खेल पाँच राउन्डमा खेलाइएको थियो । हरेक राउन्ड तीन मिनेटको थियो । जिमखाना फाइट नाइटको मुख्य आयोजक जिमखान मुवाथाई हो । नेपाल नेसनल मुवाथाई एसोसिएसन र बक्सिङ एसोसिएसन सहआयोजकका रूपमा थिए । 

‘हाम्रो नेपालमा पैसा तिरेर खेल हेर्न जाने चलन नै छैन,’ जिमखाना फाइट नाइटका कोफाउन्डर राहुल मोक्तान भन्छन्, ‘हामी यसलाई कल्चरका रूपमा अघि बढाउन चाहन्छौं ।’ उनी थप्छन्, ‘फाइट गेमको करियर बनाउन चाहने फाइटरलाई प्लेटफर्म दिन र अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि यो सुरुवात गरिएको हो ।’ राहुलका अनुसार अबको योजना महिला फाइट गर्ने र अन्तर्राष्ट्रिय फाइट गराउने हो । तीन/तीन महिनामा फाइट नाइटको आयोजना हुँदै आएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७६ १५:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×