३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कुवेतबाट ३ सय ६ जना नेपाली महिला कामदार आइपुगे [तस्बिरहरू]

हाेम कार्की, सुरज कुँवर, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — कुवेतबाट ३ सय ६ जना नेपाली महिला त्रिभुवन विमानस्थलमा आइपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा लगेको छ । होल्डिङ सेन्टरबाट भने सम्बन्धित स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लैजानेछ । जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडान नम्बर जे ९१५४३ जहाजमार्फत १ सय ४९ जना आएका हुन् । पहिलो उडान कुवेतको स्थानीय समयअनुसार बिहान ४ बजे र दोस्रो उडान ६ बजे गरेको थियो ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जजिरा एयरलाइन्स ४ घण्टा ४५ मिनेटपछि त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । बिहीबार नेपाल आउनेहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार हुन् । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा राखेको थियो ।

सबै जनाको विमानस्थलमै स्वास्थ्य परीक्षण गरिएको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दिपेन्द्रविक्रम खाँडले इकान्तिपुरलाई बताए । उनीहरूलाई मध्यराति विमानस्थल लगिएको थियो । ‘नेपाल आउन पाउँदा निकै खुसी लागेको छ । यसको वर्णन गर्न सक्तिनँ । अब मर्न परे पनि नेपालमै मर्ने हो’, दोस्रो उडानमा रहेकी रीता लिम्बूले भनिन् ।

पहिलो र दोस्रो उडानमा बालबालिका भने थिएनन् । अस्थायी क्याम्पमा ११ जना बालबालिका थिए । ‘बच्चाका आमा र हामी एउटै क्याम्पमा थियौं तर उहाँहरूको नाम आएन । हामीलाई बसमा हालेर ल्यायो । उहाँहरूको नाम नआउँदा दुःखित हुनुहुन्थ्यो’, लिम्बूले भनिन् । उनीहरू आर्दिय क्याम्पमा थिए ।

कोभिड–१९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्न मंगलबार अनुमति दिएको थियो । कुवेतले बिनाजरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुईवटा चार्टर विमानमार्फत नेपाल पठाउन सरकारसमक्ष प्रस्ताव राखेको थियो । अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा २ हजार ९ सय ९१ जना छन् । तिनमा पुरुष १ हजार ६ सय ८८ र महिला १ हजार ३ सय ३ जना छन् । यी सबैलाई नेपाल पठाउन कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ । तर सबैलाई एकैपटक ल्याउन नेपाल सरकारले अनुमति दिएको छैन ।


प्रकाशित : जेष्ठ २९, २०७७ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्