कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

श्रीमान् कोरामा, श्रीमती मिर्गौलाको डायलसिस गराउँदै [फोटो फिचर]

शब्द/तस्बिर : केशव थापा

काठमाडौँ — काठमाडौंको बनस्थली सानो भर्‍याङ नजिकैको पाटीनेर एउटा ठूलो पानीको ड्रम छ । त्यही ड्रमको पानीले नुहाइरहेका छन्, जंगबहादुर बुढा (४९) । आइतबार बिहान नुहाइसकेर उनले सेतो वस्‍त्र लगाए । नाक-मुखलाई मास्कले छोपे अनि खाली खुट्टा सडक हुँदै नजिकै रहेको प्रतीक्षालयमा छिरे ।

मुगुमा आमाको मृत्यु भएपछि उनी किरिया बसिरहेका छन् । किरिया बसेपछि गर्नुपर्ने सबै कर्म उनी प्रतीक्षालयमा बसेर गरिरहेका छन् । उनको स्थायी घर कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका हो । कान्छा भाइसँगै आमाको १३ दिने किरिया गर्नुपर्ने सामाजिक संस्कार भए पनि उनले त्यसो गर्न पाएनन्, देशव्यापी लकडाउनका कारण ।

उनी एक्लै किरिया बस्न थालेको १० दिन भएको छ । छन त साथमा श्रीमती पनि छन्, जनदेवी बुढा (४७) । तर उनी किरिया बस्न सक्दिनन्, दुईवटै मिर्गौला फेल भएर साताको तीनपटक डायलसिस गराइरहेकी छन् ।

आमाको मृत्युको खबर पाएदेखि किरिया बस्ने ठाउँ हेर्न उनले कलंकीदेखि बालाजुतिरका सबैजसो ठाउँ चहारे, मठ-मन्दिरमा रहेका किरियापुत्री घरदेखि पाटीसम्म । तर, लकडाउनका कारण किरियापुत्री घरहरु बन्द थिए । धेरैले पशुपति किरियापुत्री भवनमा जान सुझाव पनि दिए तर श्रीमतीले ६ वर्षदेखि बनस्थलीमै डाइलसिस गराउँदै आएकाले पशुपति जान चाहेनन् ।

त्रिपाल वरिपरि बेरेर बसेका उनी स्थानीयले ल्याइदिएको फलफूलको भरमा छन् । पाटीमा सामान्य डसनाबाहेक ओढ्ने-ओछ्याउने समस्या छ । 'म त १३ दिन काटूँला, दुवै मिर्गौलाले काम नगर्ने श्रीमतीलाई बचाउन गाह्रो हुने भो ।'


प्रकाशित : जेष्ठ २५, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्