कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सीमामा आमाहरूको दु:ख [तस्बिरहरू]

नाकामा आइपुग्नेमा आधाजसो महिला र बालबालिका छन् । चर्को गर्मीले आहत देखिएका बालबालिकालाई सम्हाल्न आमाहरूलाई सकस हुन्छ ।
अर्जुन शाह

धनगढी — दशगजासम्मै फैलिएको छ भारतको दुधुवा नेसनल पार्क । त्यही पार्कको छेउसम्म भारतले काँडेतार लगाएर आफ्नो क्षेत्रलाई सुरक्षित बनाएको छ । त्यसयता दशगजा र नेपालको भूमि भने उजाड छ । दुधुवा नेसनल पार्क छेउसम्म फैलिएका विशाल रूखले तराईमा दिउँसोको ४० डिग्री गर्मी छेक्न छहारी दिइरहेका छन् । भारतीय भूमिबाट स्वदेश फर्किने क्रममा भोक र प्यासले थकित आमाहरू, बालबालिका र वृद्धवृद्धाका पाइलाहरू विश्रामका लागि तिनै रूखको छहारीतर्फ लम्किरहेका छन् ।

अघिल्ला दिनझैं बिहीबार मध्याह्न पनि सयौंको संख्यामा दूधे बालक बोकेका आमा र वृद्धा गौरीफन्टामा ओर्लिरहेका थिए । त्यही समूहमा कैलाली टीकापुरकी रूपा साउद, डोटीको पूर्वीचौकी गाउँपालिकाकी नर्मा नेपाली, महेन्द्रनगरको कटान घर भएकी सरस्वती खत्रीलगायत आमाहरू आफ्ना बालबच्चा बोकेर आएका थिए । १२ वर्षदेखि भारतको सुरतमा श्रीमानसँगै बस्दै आएकी रूपा कोरोना कहरका कारण गाउँ फर्किएकी हुन् । उनको परिवारलाई गौरीफन्टासम्म पुग्न तीन दिन लाग्यो । तीन दिनसम्म भोकभोकै बस्नुपरेको दुखेसो उनले पोखिन् । ‘बच्चाका लागि बाटोमा दूध नपाइएकाले रोएर हैरान बनायो । आमाको दूधले मात्रै पुग्दैन,’ रूपाले भनिन्, ‘बाटोमा जतिसुकै भोक र कष्ट सहनुपरे पनि यहाँसम्म पुग्न पाएकामा खुसी लागेको छ ।’

डोटीको पूर्वीचौकी गाउँपालिका घर भएकी नर्मा मुम्बईबाट आएकी हुन् । गौरीफन्टासम्म पुग्न उनलाई पनि तीन दिन लाग्यो । श्रीमान् र तीन बच्चासहित फर्किएकी उनको परिवारले खाना नखाएको पनि तीन दिन भयो । पूर्वीचौकीका मात्रै २८ जनाको समूह घर फर्किएको स्थानीय बलुसिंह विष्टले बताए । आफूहरूको समूहमा आधा संख्या महिलाको रहेको उनले बताए ।‘हामी पुरुषले त सहेका छौं तर हाम्रा महिला र बालबच्चालाई सहनै नसक्ने कष्ट भयो,’ उनले भने । उनले गौरिफन्टासम्म पुग्न एक जनाको दस हजार भारु भाडा तिर्नुपरेको बताए ।

उनीहरू यहाँदेखि गाउँसम्म कसरी जाने भन्ने चिन्तामा थिए । वर छेउमा स्वयंसेवीले वितरण गरिरहेको खाना र पानीले उनीहरूलाई राहत दिएको थियो । चर्को गर्मीले आहत देखिएका बालबालिकालाई सम्हाल्न आमाहरूलाई सकस भइरहेको थियो । दशगजा पुगेका सबै चाँडो गाउँ पुग्ने सवारीसाधनमा बस्न पाए हुन्थ्यो भन्ने ध्याउन्नमा थिए । तर जिल्लातर्फ पुर्‍याउने सवारीसाधनको कुनै टुंगो थिएन । कैलाली र कञ्चनपुरका पालिकाहरूले भने उनीहरूलाई लिन दशगजासम्म फोहोर उठाउने टिपर पठाएका थिए । सम्बन्धित पालिकाका स्थानीयहरू त्यही टिपरमा चढ्न हतार गरिरहेका देखिन्थे ।

जेठको सुरुदेखि नै धनगढीको सीमा नाका गौरिफन्टा हुँदै दैनिक हजारौं सुदूरपश्चिमेली बासिन्दाहरू स्वदेश भित्रिरहेका छन् । बुधबारसम्म ५५ हजारभन्दा बढी सुदूरपश्चिमेली गाउँ फर्किएको जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांक छ । ‘खास गरी ससाना बालबच्चा बोकेका आमाहरू, बालबालिकाहरू र वृद्धवृद्धाहरूको थकित अवस्थाले हामीलाई पनि भावुक बनाउँछ । तर पनि हामी उनीहरूलाई खासै केही गर्न सकिरहेका छैनौं,’ जिल्ला प्रशासन कार्यालय कैलालीका शाखा अधिकृत शिवराज जोशीले भने, ‘दैनिक आउनेको समूहमा आधाजसो महिला र बालबालिका हुन्छन् ।’


प्रकाशित : जेष्ठ २३, २०७७ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्