अर्नाको आलिंगन [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — अर्नाको नेपालमा मुख्य बासस्थल कोशीटप्पु निकुञ्ज हो । त्यहाँ बाहेक अन्यत्र अर्ना छैनन् पनि । तर ७३ सालको पुसमा कोसीबाट चितवन निकुञ्जमा अर्ना ल्याएर राखिएको छ । त्यो बेला कोसी टप्पुबाट १२ र सदर चिडियाखानाबाट तीन गरेर १५ वटा अर्ना चितवनमा ल्याइएको थियो । कुनै बेला चितवनमा अर्ना देखिने स्थानीयले सुनाउँछन् । तर देखिन छाडेको लामो समय भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरेको एउटा बस्ती छ । जसलाई पदमपुर भन्ने गरिन्छ । पदमपुरमा मान्छे हटाएपछि खाली भएको फाँटमध्ये ३० हेक्टर जमिनलाई तारबार गरेर अर्ना छाडिएको हो । जुन ठाउँ चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाबाट दक्षिणमा पर्दछ । पदमपुरमा छाडेका १५ अर्नामध्ये ६ वटा अर्ना विभिन्न कारणले मरे । तर स्थानान्तरण गरेर ल्याएपछि चारवटा बच्चा जन्मेका छन् ।

अर्ना ल्याउँदा कोसीबाट दुई भाले र चिडियाखानाबाट एउटा गरेर तीनवटा भाले ल्याइएको हो । बच्चाहरुसमेत गर्दा अहिले अर्नाको संख्या १३ र भालेको ६ वटा पुगेका छन् । निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख रहेका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरे ७४ सालको साउन २८ गते आएको भिषण बाढीले अर्नाहरुलाई पनि सताएको थियो । तर उनीहरुको स्वास्थ्य अवस्था विस्तारै सुधार हुँदै आयो ।

जन्मेका चारवटा बच्चा राम्रोसँग हुर्केका छन् । १३ वटा अर्ना एउटै झुण्डमा बस्ने गर्दछन् । चर्ने, खेल्ने र आहालमा मस्त हुने गरेको भेटिन्छ । घाँस कम भएका बेलामा निकुञ्जले चोक्करको समेत व्यवस्था गर्दछ । अहिले थप १५ हेक्टरमा तारबार गरेर क्षेत्र बढाउन लागेको सहायक संरक्षण अधिकृत घिमिरेले बताए । कोसीबाट गरेको अर्ना स्थानान्तरण सफल हुँदै गएको उनले दाबी गरे ।सबै तस्बिरहरु : रमेशकुमार पौडेल/कान्तिपुर ।


प्रकाशित : जेष्ठ २०, २०७७ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्

पर्वतका सबै संक्रमित भारतबाट आएका

सँगै आएका अरु व्यक्तिमा भने देखिएन संक्रमण
अगन्धर तिवारी

पर्वत — पर्वतमा पहिलोपटक कोरोना स‌ंक्रमण देखिएका पाँच जनासँगै भारतबाट आएका अरु व्यक्तिहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

पर्वत अस्पतालले दिएको जानकारीअनुसार भारतबाट नेपालको सुनौली नाका हुँदै बिहीबार पर्वतको कुश्मास्थित दुई स्थानको क्वारेन्टाइनमा राखिएका पाँच जना व्यक्तिहरुमा रिपोर्ट पोजिटिभ आएको हो ।

गण्डकी प्रदेशस्तरीय प्रयोगशालामा सोमबार साँझ रिपोर्ट पोजिटिभ देखिएका उनीहरुको बिववरण मंगलबार बिहान सार्वजनिक भएको हो । पोजिटिभ देखिनेहरुमा फलेबास नगरपालिकाका २० र ४० वर्षका पुरुष तथा महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका पुरुष छन् ।

उनीहरुसँगै आएका अरु व्यक्तिहरुको रिपोर्ट भने नेगेटिभ आएको पर्वत अस्पतालले जनाएको छ । भारतबाट आएका सबैको पीसीआर परीक्षण गर्ने निर्णयअनुसार आइतबार पठाएका ३९ मध्ये पाँच जनाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु सबैलाई उपचारका लागि सदरमुकाम कुश्माकै गुप्तेश्वर क्याम्पसमा तयार गरिएको अस्थायी कोरोना अस्पतालमा लगिएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए । उनका अनुसार कोरोना पोजिटिभ देखिएकाहरुको स्वास्थ्य अवस्था सामान्य छ । ‘लक्षण पोजिटिभ आएको भए पनि उहाँहरुमा कुनै लक्षण छैन,’ उनले भने, ‘सँगै आएका अरुको पनि रिपोर्ट नेगेटिभ आएको छ । पोजिटिभ देखिएका बाहेक सबै सुरक्षित हुनुहुन्छ ।’ कुश्मासहित सबै पालिकाहरुको लगानीमा २० शय्याको अस्थायी कोरोना अस्पताल तयार गरिएको छ ।

संक्रमण पुष्टि भएका व्यक्तिहरुसँगै भारतबाट आएका अरु व्यक्ति तथा कुश्मा आइसकेकपछि राखिएका स्थान आसपासका व्यक्तिहरुको समेत पहिचान गरी सदरमुकाम र समग्र जिल्लालाई संक्रमणबाट जोगाउने पहल भइरहेको कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड फोर्सले जनाएको छ । त्यसका लागि मंगलबार दिउँसो जिल्ला प्रशासनमा बैठक बसेको छ । बैठकमा कोरोना पोिजटिभ भेटिएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने, उनीहरु बसेका स्थानमा कीटाणुनाशक रसायन छर्किने, आइसोलेसन अस्पताललाई व्यवस्थित गराउने लगायत विषयमा छलफल भएको पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

पर्वत प्रशासनको पहलमा भारतबाट पछिल्लो दुई सातायता एक सय ६९ जना भित्रिएका छन् । उनीहरु सबैको पीसीआर परीक्षण भइरहेको छ । परीक्षण गरिएकामध्ये ४५ जनालाई सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा पठाइएको छ । सबैलाई एकद्वार प्रणालीबाट सदरमुकाम ल्याएर सदरमुकामकै क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ १३:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×