रुकुम घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

तस्बिर : केशव थापा

काठमाडौँ — पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रर्दशनमा नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्व सदस्य मञ्जित ताम्राकार लगायतको उपस्थिति रहेको थियो । अहिलेको २१ औं शताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानविय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् । दलित आयोगका पूर्व अध्यक्ष ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने र पीडकलाई कडा कारबाही गर्नुपर्ने बताए ।

पूर्व सांसद शाहीले राज्यका हरेक निकायमा सम्पूर्ण जातजातिको समान सहभागिता हुनेगरी संविधानमा उल्लेख भएपनि अझै समुदायस्तरमा चेतनाको कमिका यस्ता घटनाहरु हुने गरेको बताए । ग्रामिण क्षेत्रमा जातीय विभेद विरुद्धका अभियानहरु सरकारले सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्न माग गरे । शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको थियो । तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।

प्रकाशित : जेष्ठ १३, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीका थप ११ जनामा कोरोना संक्रमण

एकैदिन १०१ जनामा संक्रमण
अवधेशकुमार झा

राजविराज — सप्तरीमा मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक सप्तरीको बोदेबरसाइन नगरपालिकाका ८ जना,बलान बिहुल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि मंगलबार नै ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका थिए । मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २/२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एक/एक जना छन् । योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।

नेपालमा माघ १० गते कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएपछि मंगलबार एकैदिन धेरै जनामा संक्रमण देखिएको हो । मंगलबार मात्रै १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि वैशाख ३० गते ८३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक/एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ १७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×