कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भुईंमै जहाज [फोटो फिचर]

सुरज कुँवर, तस्बिर : अंगद ढकाल

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० हजार हाराहारी यात्रुहरुको आवागमन हुन्थ्यो । तर, अहिले दुवै टर्मिनल भवनबाट व्यावसायिक उडान भएका छैनन् । यहाँका एयरलायन्स कार्यालय, कफी पसल, एजेन्सीलगायत सबै दुई महिनायता बन्द छन् ।

यात्रु आवागमन रोकिँदा अन्तर्राष्ट्रियतर्फ तीनवटा नेपालीसहित ३० वटा वायुसेवा कम्पनीहरुले मासिक कम्तीमा १० अर्ब रुपैयाँ आम्दानी गुमाउनु परेको छ, भने आन्तरिकतर्फ १० वटा नेपाली वायुसेवा कम्पनीले दैनिक ५ करोड हाराहारीको टिकट तथा कार्गो व्यापार गुमाउनु परेको छ ।

यी दुवैतर्फका उडानसँग जोडिएका दर्जनौं अन्य व्यवसायको दैनिक घाटाको लेखाजोखा कुनै पनि निकायसँंग छैन । व्यावसायिक उडान नभएपनि देशभित्र र बाहिर बिरामी तथा विदेशी उद्धारका लागि चार्टर उडान कुनै दिन औसत ३–४ वटा सम्म भएका देखिन्छन् भने कुनै दिन हुँदै हुँदैनन ।

व्यावसायिक उडान रोकिएपछि नेपाली वायुसेवा कम्पनीले आफ्ना विमानलाई काठमाडौं विमानस्थलमा ग्राउन्डेड गरेका छन् । यी विमान सामान्य अवस्थामा कम्तीमा ६ देखि अधिकतम १२ घन्टासम्म दैनिक उड्थे ।

लकडाउनपछि भुईँमा झरेका यी विमान यतिबेला पाइलटको होइन इन्जिनियर तथा प्राविधिकहरुको निगरानीमा छन् । उनीहरुले विमानको प्रकार अनुसार कम्तीमा ३ देखि ७ दिनमा हरेक जहाजलाई नियमअनुसार रेखदेख गरिरहेका छन् ।


प्रकाशित : जेष्ठ १३, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्