१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ताल्चा ठोकिएको सहर (तस्बिरहरू)

अनिश रेग्मी

काठमाडौँ — कोभिड– १९ का कारण देश ४८ दिनदेखि लकडाउनमा छ । उद्योग–कलकारखाना ठप्प भए । सटर, पसल अनि कार्यालय बन्दको बन्दै छन् । मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् । सहरका ढोकाहरूमा झुन्डिएका यी ताल्चाहरूले पनि लकडाउनको यही पाटोलाई झल्कारहेका छन् । सुरक्षाका लागि लगाइएका यी ताल्चाहरू आफैंमा गतिहीनताको विम्ब पनि बनिरहेछन् ।  

अहिले राजधानीका बजार घुम्दा बन्द पसलमा ठोकिएका अनेकखाले ताल्चाहरूमा आँखा ठोक्किन्छन् । कुनै नयाँ त कुनै पुराना । कुनै प्राचीन अनि मौलिक शैलीका । यिनले सुरक्षा त दिएकै छन्, आकर्षक पनि लाग्छन् । पसलमा ताल्चा लगाउने तरिका पनि फरक–फरक देखिन्छन् । 

धनसम्पत्तिको सुरक्षा गर्न पूर्वजहरूले अपनाएका प्राचीन प्रविधिको विकसित रूप नै यी आधुनिक ताल्चाहरू हुन् । सुरुमा यस्ता ताल्चा केवल डोरी वा अन्य सामग्रीबाट बनाइएका साधारण गाँठाहरू हुन्थे जुन अरू कसैले खोले/नखोलेको थाहा पाउन मात्र प्रयोग गरिन्थ्यो । विस्तारै नयाँ प्रविधि विकास हुँदै जाँदा काठ र धातुबाट ताल्चा बन्न थाले । जुन रूप र ढाँचाका भए पनि ताल्चा लगाउनुको अर्थ एउटै हो– सुरक्षा । यिनको प्रयोगले हामी हाम्रा बहुमूल्य चीजहरू सुरक्षित भएको महसुस गर्छौं र ढुक्कले निदाउँछौं ।

यस्तै आकर्षक तरिकाले पाटन र वसन्तपुर दरबार स्क्वायर परिसरका केही पसलमा प्रयोग गरिएका केही ‘लक’का तस्बिर यहाँ समावेश गरिएका छन् । 


प्रकाशित : वैशाख २८, २०७७ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्