काठमाडौंका सीडीओ चेकपोस्ट पुगे तर अलपत्र यात्रुसँग कुरै गरेनन् [तस्बिरहरु]

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — विराटनगरलगायत विभिन्न ठाउँबाट आएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले रोकेको छ । यसअघि विराटनगरबाट आएका केही यात्रुलाई व्यक्तिगत विवरण टिपेर छाडिए पनि पछि माथिको आदेश भन्दै महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले रोकेका हुन् ।

यसैबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सीडीओ) जनकराज दाहाल नेतृत्वको टोलीले थानकोट नाकाको अनुगमन गरेको छ । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र ट्राफिक प्रहरी प्रमुख भीम ढकालसहित आएका सीडीओ दाहालले थानकोट नाकामा अनुगमन गरे पनि अलपत्र यात्रुको व्यवस्थापनका बारेमा केही बोलेनन् । उनले यात्रुहरु र मिडिया कसैसँग पनि कुरा गरेनन् ।

अहिले चन्द्रागिरि नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरुले अलपत्र यात्रुहरुको ज्वरो नापिरहेका छन् । अहिले काठमाडौं उपत्यका पानी परिरहेकाले थानकोटमा अलपत्र बालबालिकासहितका यात्रुले ओत लाग्ने ठाउँ पनि पाएका छैनन् ।

यसैबीच सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ । उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए ।


प्रकाशित : वैशाख १५, २०७७ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्