बिक्री नभएपछि यसरी फ्याँकियो फूल [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — कोभिड-१९को जोखिम न्यूनीकरण तथा रोकथामका लागि भन्दै लकडाउन भएको एक महिना भएको छ । लकडाउनका कारणले व्यापार व्यवसाय ठप्प छन् । राजधानीको रामकोटस्थित नागर्जुन नगरपालिका-३ का पुष्प व्यवसायीहरु अहिले पीडामा छन् । फूलको व्यापार ठप्पै भएपछि फुलेका सबै फूलहरु फयाँक्न उनीहरु बाध्य छन् ।

पुष्प व्यवसायी उद्धवराज गिरी र हरि शरण गिरी यतिबेला चिन्तित छन् । वैशाख महिना सबैभन्दा बढी फूल बिक्री हुने सिजन हो । विवाहको लगन प्रशस्त हुने र जाडोका कारण कक्रिएका फूलहरु फक्रेर उत्पादन समेत प्रशस्त हुने भएपछि वर्षभरी हुने बिक्रीको २० प्रतिशत व्यापार यही समयमा हुन्थ्यो ।

उद्धवराजले भने,' २०७७ सालमा अरु महिनामा राम्रो व्यापारको सम्भावना छैन । अहिलेको अवस्था हेर्ने हो भने असारसम्म पनि विवाहलगायतका शुभकार्य र ठूला पूजापाठ हुने सम्भावना छैन । साउन र भदौमा त्यस्तो शुभकार्य हुँदैन । यो वर्ष असोजमा ‘मलमास’ छ, त्यसैले त्यो महिनामा पनि शुभकार्य हुँदैन । ' ‘भूकम्पको बेलामा केही असर गरेको थियो, तर त्यो १८–२० दिनको लागि मात्रै थियो । यो वर्ष चौपटै भयो । सरकारले सहुलियत नदिने हो भने यो घाटा उठाउन कम्तिमा पनि २ वर्ष लाग्छ,’ हरिशरणले भने ।

फूलको बिक्री नभएपछि कामदारलाई पनि पूरा तलब दिन नसकिएको उनीहरुको भनाइ छ ।


प्रकाशित : वैशाख १२, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्