कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तरकारी बजारमा लागू भएन सामाजिक दूरी (तस्बिरहरू)

शब्द/तस्बिर : केशव थापा

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन देशभर गरिएकाे लकडाउन आइतबार २० दिन पुगेको छ । लकडाउनका कारण मानिस घरबाट बाहिर निस्कन पाएका छैनन् । अत्यावश्यक काममाबाहेक बाहिर निस्कनेलाई प्रहरीले पक्राउ गरेर २ घण्टा उभ्याउने गरेको छ । तर आइतबार बिहान बल्खु फलफूल तथा तरकारी बजारमा पुग्दा भने फरक दृश्य देखियो ।

कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने भएपनि उक्त तरकारी बजारमा त्यसको पालना भएको देखिएन । बजार बिहान १ बजेदेखि खुल्ने एक व्यापारीले बताए । बिहान १ बजे खुल्ने बजार ७ बजे बन्द हुने गर्छ।

बजार १ बजेबाट खुले पनि फलफूल तथा तरकारी किन्नेको अत्यधिक भीड भने ४ देखि ७ बजे सम्म हुने उनले बताए । तरकारी बजारको गेटै देखि नै तरकारी व्यापारी र ग्राहक तरकारी मोलमोलाइमा व्यस्त देखिन्थे, सामान्य अवस्थामाझैं व्यापारीहरु बिस्कुट र चियाको चुस्किसँगै गफमा मस्त थिए।

सामाजिक दूरी कायम गर्नुपर्ने भए पनि त्यसको पालना न व्यापारीले गरेक छन् न त ग्राहकले नै । एकअर्कालाई छुन नहुने भएपनि तरकारी बजार ग्राहकको भिडले ठेलमठेल देखिन्थ्यो ।

बल्खु फलफूल तथा तरकारी बजार छिर्ने गेटैमा कोरोना भाइरस संक्रमण रोकथामका उपायबारे जानकारी दिने बोर्ड छ । तर भित्र हेर्दा लाग्थ्यो बल्खु फलफूल तथा तरकारी बजार विश्वव्यापी कोरानाको माहामारीबारे बेखबर छ ।


प्रकाशित : चैत्र ३०, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्