१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लकडाउनले छेकेन मत्स्येन्द्रनाथको महास्‍नान [तस्बिरहरु]

प्रशान्त माली

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९)ले लकडाउन लम्बिएको छ । तैपनि सहकालका देवता रातो मत्स्येन्द्र्रनाथको न्हवँ (महास्नान) भने रोकिएन । जात्रा प्रत्येक वर्ष बैशाख कृष्ण प्रतिपदामा मनाउने परम्परा अनुसार बिहिबार पाटन तबहालस्थित मत्स्येन्द्रनाथको मन्दिरबाट लगनखेलस्थित ‘न्हवू दबु’(डबली) पुर्‍याई महास्नान गराइएको छ ।

सांस्कृतिक इन्द्र, नाय्खी बाजा र हनुमान ढोका दरबारस्थित सादुर्लजंग गुल्मबाट आउने गुरुजु पल्टन भने लकडाउनका कारण उपस्थित गराइएन् । हरिसिद्धिबाट जात्राका लागि सातदोबाटोसम्म ल्याइने इन्द्र बाजा पनि यसपाली ल्याइएन् । सर्वसाधारणको घुइचो लाग्ने जात्रा लकडाउनका कारण सुनसान देखियो । मत्स्येन्द्रनाथका २२ जना पुजारीहरु मात्र बसेर जात्रा गरियो ।

मत्स्येन्द्रनाथका पुजारी विनोद बज्रचार्यले अरु ठाउँको भन्दा विशेष प्रकृतिको जात्रा भएकाले रोक्न नहुने बताए । ‘राष्ट्रप्रमुख उपस्थित भएर भोटो जात्रा नजर गर्नुपर्ने र प्रत्येक वर्ष रथमा बस्ने दुई जना पानेजु (पुजारी) को पालो फेर्नुपर्छ,’उनले भने, ‘पानेजुहरुले रथ जात्राको लागि ६ महिनाअघिदेखि बुङमतीस्थित जीवित देवी कुमारी पूजादेखि लिएर विभिन्न पर्वपूजा सञ्चालन गर्दै आइरहेकाले पनि यो रोक्न मिल्दैन ।’

महास्नानका लागि बुधबार राति मत्स्येन्द्र्रनाथको जीवन्यास गरि कलशमा प्रतिस्थापन गरिएको थियो । महास्नान गराउन बुङ्मतीस्थित ‘न्हवू गाँ’ (जल द्रोणी), कुम्भेश्वरको कुण्ड र तःबहालको इनारबाट जल ल्याइएको थियो । महास्नान जात्रा सकेलगतै पुल्चोकमा राती ‘हामोकि’ (जग) पूजा गरि भोलिपल्टदेखि रथ निर्माण सुरु गर्नुपर्ने परम्परा छ । तर, लकडाउन सकेलगतै मात्र रथ निर्माण सुरु गरिने जानकारी बाराही गुठीका नाइके दिलकुमार बाराहीले बताए । ‘वैशाख ३ गतेबाट पनि लकडाउन लम्बिएमा रथ निर्माण गर्ने/नगर्ने बारेमा पुनः छलफल गरि टुंगो लगाउने छौं,’ उनले भने । रथमा काठको बाराही गुठी र बेथको काम यवल गुठीले गर्ने चलन छ ।

जात्रामा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग भने झल्लरवाल छत्रले ओढाएर सम्मिलित गराइएको थियो । महास्नान देखाउन ललितपुरकी जीवित देवी कुमारीलाई पनि लगनखेलमा उपस्थित गराइएको थियो ।

महास्नानपछि रातमा मत्स्येन्द्र्रनाथको मूर्तिलाई सेतो कपडाले छोपेर पाटन तःबहालस्थित मत्स्येन्द्रनाथक मन्दिरको पिढीमा राखियो । यसरी मूर्ति ल्याउदा सिः बाजा (नेवार समुदायमा शवयात्रामा बजाइने एक प्रकारको बाजा) बजाउने चलन छ । तर, लकडाउनका कारणले भने बजाइएन् ।

वैशाख कृष्ण त्रियोदशीका दिन बौद्ध परम्पराअनुसार प्राणप्रतिष्ठा गराई पुरुष र नारी दुवैलाई गरिने जातकर्म, नामकर्म, अन्नप्राशन, उपनयन, चूडाकर्म, इही (बेल विवाह) र गुफा राख्ने दशकर्म गराउने परम्परा छ । तर, यस वर्ष चतुर्दर्शी तिथी दुई दिन परेकाले दशकर्म चतुदर्शीको दिन हुने मत्स्येन्द्रनाथका पुजारी बज्रचार्यले बताए ।

‘वैशाख शुल्ककृष्ण औसीको दिन ललितपुरको देवीचौरस्थित कटुवाल दहमा पुगेर विधिविदन अनुसार मत्स्येन्द्रनाथलाई कलशमा विराजमान गराइ भोलीपल्ट त्यहाबाट तःबहालस्थित मन्दिरमा ल्याइनेछ,’ उनले भने, ‘र सोहीदिन (वैशाख शुक्ल प्रतिपदा) को दिन मत्स्येन्द्र्रनाथको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई पुल्चोकमा रथारोहण गराइने चलन छ ।’ त्यसको चौथो दिनदेखि रथयात्रा सुरु हुने परम्परा छ ।

तस्बिरहरुः सन्जोक मानान्धर,बिजु महर्जन,इलिट जोशी


प्रकाशित : चैत्र २७, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्