कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लकडाउनमा सुत्केरीको दिल्ली–नेपाल यात्रा : ‘जीवनभरलाई नमिठो सम्झना भयो’

सुनौली नाकाबाट बुधबार उद्धार गरिएकी २३ दिनकी सुत्केरीको दिल्ली–नेपाल यात्रा ।
सन्जु पौडेल

काठमाडौँ — तिलोत्तमा– भारत सरकारले गएको चैत १२ मा तीन साताका लागि देशभर ‘लकडाउन’ को घोषणा गर्‍यो । जसरी हुन्छ नेपाल फर्किने उद्देश्यले लक्ष्मी परियार (२६) को परिवारले नयाँ दिल्ली छाड्यो । सीमा नाका बन्द भए पनि आफ्नै जन्मभूमि छिर्न नपाइएला भन्ने उनीहरुले चिताएका थिएनन् । जसोतसो सुनौली नाकासम्म आएका उनीहरु तीन दिन त्यहीँ अलपत्र परे । अलपत्र पर्नेमा लक्ष्मीको परिवार मात्र थिएन । उनीहरुसँगै तीन सय जनाभन्दा बढीले भोकैप्यासै दिनरात काटे । 

तीन साताकी सुत्केरी लक्ष्मीले काखमा शिशु च्यापेरै सडकमा रात बिताइन् । सीमामा अलपत्र परेकालाई पहिलो दिन भारत सरकारले नौतनुवा लगेर स्थानीय क्याम्पसमा क्‍वारेन्टाइनमा राखेपछि लक्ष्मीको माइत पुग्ने सपना अधुरो भयो । नाकामा सुत्केरी अलपत्र परेको समाचार ईकान्तिपुरमा प्रकाशित भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको पहलमा बुधबार उनको उद्धार भयो । उनी अहिले नगरपालिकाले निर्माण गरेको क्‍वारेन्टाइनमा परिवारसहित आश्रय लिइरहेकी छन् ।


‘बल्ल आरामले श्वास लिँदैछु,’ लक्ष्मीले भनिन्, ‘माइतै पुगे जस्तो भयो ।’ बिहीबार उनी सुत्केरी भएको २३ दिन पूरा भयो । दश वर्षदेखि नयाँ दिल्लीमा पति र दुई सन्तानका साथ बसिरहेकी उनी घर र माइत नआएको धेरै समय भइसकेको थियो । पति काम गर्थे । उनी दुई छोरीको रेखदेख गरेर बसिरहेकी थिइन् । ‘यसपाली छोरा जन्मियो,’ उनले भनिन्, ‘इन्डियामा लकडाउन भएपछि माइत गएर आराम गर्छु भनेर आएँ । आफ्नै देश छिर्न पाएनौं ।’ तीन साता लामो लकडाउन कटाउन समस्या हुने भएपछि घरै जाउँ भनेर कष्टपूर्ण यात्रा गरेर यहाँसम्म आएको उनले सुनाइन् ।


मार्च २३ मा एउटा बस फेला पारे । उनले शिशु च्यापिन्, श्रीमान् मनोजले दुई छोरी डोर्‍याए र नेपालतर्फ लागे । दिल्ली छाड्ने बेला उनी सुत्केरी भएको १३ दिन मात्रै भएको थियो । आराम गर्नुपर्ने समयमा उनलाई यात्रा गर्नुपरेको थियो । त्यो पनि घर पुगिन्छ कि पुगिँदैन भन्ने अनिश्चतताका बीचमा । उनीहरु चढेको बस सीमासम्म आइपुगेन । ‘सात वटा गाडी फेर्नुपर्‍यो,’ मनोजले भने, ‘६० किलोमिटर जति पैदलै हिँड्नुपर्‍यो ।’


‘दुई छोरी पनि सानै छन् । उनीहरु पनि ठूला मान्छेले जस्तो हिँड्न सक्ने कुरा भएन । म पनि बच्चा काखमा च्यापेर हिँड्न सकिनँ,’ मनोजले बोलिनसक्दै लक्ष्मीले आफ्नो दु:ख पोखिन्, ‘१० पाइला हिँड्दै, बस्दै आएँ ।’ हिँड्न नसकेका कारण धेरै समय लागेको उनले सुनाइन् । बसमा भने उनलाई सजिलो भएको थियो । भारतीय सेना र प्रहरीले बालबच्चासहित देखेर उनलाई सिट मिलाइदिएका थिए । ‘गोरखपुरबाट सुनौली आएपछि सार्‍है दु:ख पाइयो । तर, दशगजा नपुग्दै भारतीय प्रहरीले रोक्यो,’ उनले भनिन् ।


उनीहरु सुनौली पुग्दा सीमा वारिपारि दुवैतर्फको बजार बन्द थियो । स्थानीय पनि घर बाहिर निस्केका थिएनन् । सडकमा थिए त देश फर्किने आशमा सीमा नजिक आएर पनि अलपत्र परेका अन्य नेपाली मात्रै । अरुले जस्तै उनीहरुले पनि घर फिर्तीका लागि भारतीय प्रहरीसँग अनुनय–विनय नगरेका होइनन् । ‘रुँदै घर जान पाउँ भने, तर छाडेनन्,’ लक्ष्मी केहीबेर मौन बसिन् ।


नाकामा आइपुगेको पहिलो दिन भारतीय सुरक्षाकर्मीले उनीहरुलाई नौतनहवाको एक विद्यालयमा बनाइएको क्‍वारेन्टाइनमा राखेको थियो । ‘क्‍वारेन्टाइनमा राम्रै खानपान थियो,’ मनोजले भने, ‘आरामले सुत्ने व्यवस्था थियो ।’ आफू र बच्चालाई दूधसँगै खाना दिएको लक्ष्मीले बताइन् । आफूलाई क्‍वारेन्टाइनमा राम्रो व्यवहार गरिएको उनको भनाइ छ ।


त्यही क्रममा क्‍वारेन्टाइनमा रहेका तीन सय हाराहारी नेपालीले नाकामा खटिएका केही प्रहरीलाई धकेलेर भए पनि बोर्डर पार गर्ने सल्लाह गरे र सबै जना नाका क्षेत्रमा आए । तर, उनीहरुको प्रयास सफल भएन । उल्टै प्रहरीले लाठी चार्ज गर्न थाल्यो । त्यसबेला बालबच्चा काखी च्यापेर कुनामा लुकेर जोगिएको लक्ष्मीले सुनाइन् । ‘उता गयो, उतैका प्रहरीले लखेट्ने, यता आयो आफ्नै देशकाले,’ उनले भनिन्, ‘पहिलोपटक यस्तो पीडा भोगियो, जीवनभरलाई नमिठो सम्झना भयो ।’


उनीहरु त्यस रात बेलहिया नाकास्थित सडकमै बसे । अन्य नेपाली पनि त्यहीँ थिए । ‘नेपालको प्रहरीले पानी पनि सोधेनन्,’ उनले दुखेसो पोखिन्, ‘सुत्केरी शरीर, साना बालबच्चा, आफ्नै बुद्धि बिग्रिएर देश आएछु जस्तो भयो ।’ दिल्लीमै छँदा उनीहरुलाई बच्चासँग यात्रा नगर्न साथीहरुले सुझाव दिएका थिए । त्यसबेला ति साथीहरुलाई झलझली सम्झिएको उनले सुनाइन् ।


‘एउटै लुगामा रगत बगिरहेको थियो,’ लक्ष्मीले नाकामा अलपत्र पर्दाको अवस्था बताइन्, ‘खानेकुरा केही थिएन बच्चा रुवाउँदै बस्नुपर्‍यो ।’ सुत्केरी अवस्थामा घर र माइतमा आराम गर्ने चाहनाले श्रीमान्लाई उनी आफैंले आग्रह गरेर हिँडेकी थिइन् । त्यसबेला नयाँ दिल्लीमा पनि कोरोना भाइरस (कोभीड–१९) को जोखिम थियो । त्यही कोरोना संक्रमणको त्रासले आफ्नो मुलुक प्रवेशमा पनि छेकबाँध लाग्ला भन्ने नसोचेकी उनको परिवारको सीमा क्षेत्रमै तीन दिन बस्नुपर्‍यो । दोस्रो र तेस्रो दिन उनीहरुलाई क्‍वारेन्टाइनमा राखिएन । अन्नत: चौथो दिन मात्रै लक्ष्मीको परिवार नेपाल भित्रन पायो ।


यो पनि

बेलहिया नाकामा १० दिनकी सुत्केरीको बिजोग

बेलहिया सीमामा बिजोग भएकी सुत्केरीको उद्धार


नगरपालिकाको क्‍वारेन्टाइनमा बसेपछि सुत्केरी आहार मिलेको छ । घ्यू र पोषिलो खाना पाएकोमा खुसी व्यक्त गरिन् । यहाँ नआउन्जेल उनीहरुले बाटोमा कहीँ खिचडी खाए, कहीँ केराले भोक मेटे । ‘गाडी चढेपछि भारतीय सहयोगीले खानेकुरा दिन्थे, त्यही खाइयो,’ उनले सुनाइन्, ‘सुत्केरी आहारा कहाँ मिल्थ्यो र ?’ यात्राका क्रममा बच्चालाई दूध चुसाउन भने गार्‍हो भएको उनले बताइन् । सीमा पारि उनीहरु पीडामा थिए भने यता उनीहरुका आफन्त छटपटाइरहेका थिए ।


बेलहिया नाकामा रहँदा उनीहरु कहिले ढुंगामाथि बसेर समय कटाए त कहिले सडकपेटीमा पल्टिए । यही अवस्था देखेर बुधबार जिल्ला प्रशासन र तिलोत्तमा नगरपालिका उनीहरुको उद्धार गर्ने निर्णयमा पुगेका थिए । ‘तिलोत्तमा लक्ष्मीको घर र माइती दुवै हो,’ नगरप्रमुख बासुदेव घिमिरेले भने, ‘भारतीय प्रशासनसँग छलफल गरेर उनको परिवारलाई यहाँ ल्याएका हौं ।’ उनीहरुलाई तिलोत्तमा–२ स्थित दुर्गादत्त माविमा बनाइएको क्‍वारेन्टाइनमा राखिएको छ । लक्ष्मीको माइती घर तिलोत्तमा–८, चार नम्बरमा पर्छ । घर भने तिलोत्तमा–१०, कान्छीबजारमा छ ।


अब १४ दिन क्‍वारेन्टाइनमा बस्नुपर्ने भएपछि लक्ष्मीलाई माइतीघर, आमा र घरको न्यास्रो बढेको छ । ‘यहाँ बस्न बाध्य छु, जान पाउँदिन,’ उनले भनिन्, ‘आफ्नै आँगन बिरानो भयो ।’ उनकी ठूली छोरी तीन वर्षकी भइन् । अर्की डेढ वर्षकी छन् । अहिले क्वारेनटाइनमा लक्ष्मीलाई ज्वानोको झोलसहित फलफूल, दूध, अण्डा, मासु, घ्यूको प्रबन्ध मिलाइएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । मधवलीया स्वास्थ्य चौकी प्रमुख रामेश्वर ढकालको नेतृत्वमा खटिएको टोलीले उनीहरुको स्वास्थ्य अवस्थाबारे निगरानी गरिरहेको छ ।


प्रकाशित : चैत्र २०, २०७६ २२:५०

प्रतिक्रिया
पठाउनुहोस्