लकडाउनले किसानलाई छोएन [तस्बिरहरु]

हरिहरसिंह राठौर

धादिङ — विश्वव्यापी फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चैत १५ मध्यरातसम्मका लागी लकडाउन गरेको छ । अत्यावश्‍यक कामबाहेक घरबाहिर ननिस्कन उर्दी जारी गरेको छ । प्रहरीले राजमार्ग तथा सदरमुकाममा हिँड्डुल गर्नेलाई सोधपुछ र कतिपय ठाउँमा भाटे कारबाहीसमेत गरिरहेको छ । तर धादिङ नीलकण्ठ ८ कुमालगाउँमा भने कोरोना भाइरसको कुनै प्रभाव नगरी किसान खेतीपातीमा व्यस्त छन् । चैतको पहिलो हप्तादेखि सदरमुकामका विर्ताबेंसी, जलविरे, कोइरालबेंसी लगायतका स्थानहरुमा दैनिकजसो चैतेधान रोपाइँ चलिरहेको छ । कुमाउबस्तीबाट उनीहरु दैनिक ५देखि ७ सयका दरले ज्याला लिनेगरी आउने गरेको विर्ताबेंसीका किसान दुर्गा कोइरालाले बताए ।

सदाझैं गजुरी, नीलकण्ठ नगरपालिका, थाक्रे, गल्छी लगायत गाउँपालिकाका किसानहरु अर्मपर्ममा चैते धान रोपाइँ गरिरहेका छन् । लकडाउनमा घरमा बस्दा धानको बीऊ छिप्पिने र खेतीको मौसम सकिँदा खाद्यान्न अभाव हुने चिन्ता किसानमा पाइन्छ । एक किसानले भने, 'ज्यानको माया त छ नि ज्ञ अहिले काम नगरे असारपछि खान पाइँदैन ।' आफ्नो खेत नहुने किसानहरु पनि अधियामा वा ठेक्कामा लिएर चैते धान रोप्ने गर्दछन् । गजुरी गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेत पालिकाभित्र करिब नौ सय हेक्टर खेत चैत धान लगाउने गरिएको भन्दै यतिबेला रोपाइँ नगरे बीऊ छिप्पिने र बर्खामा खाद्यान्न अभाव हुन चिन्ताले किसानहरु काममा निस्कने गरेको बताउँछन् ।

प्रकाशित : चैत्र १७, २०७६ १५:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कोरोनापछिको क्रमभंगता

रूपक सापकोटा

काठमाडौँ — कोभिड–१९ को विश्वव्यापी संक्रमण दिनप्रतिदिन भयावह बन्दै गइरहेको छ । विश्वका सबै देशहरू कोरोना संक्रमणलाई सीमित गर्न संघर्षरत छन् ।

यता, दक्षिण एसियासहितका तेस्रो विश्वका मुलुकहरू कोरोना संक्रमणलाई घातांकीय (एक्स्पोनेन्सल) दरमा फैलिन नदिन बन्दाबन्दी (लकडाउन) जस्तो ‘अलोकतान्त्रिक’ माध्यमद्वारा भरमजदुर प्रयत्न गरिरहेका छन् । अबका दिनमा पनि, यी देशहरूसँग बन्दाबन्दी लम्ब्याउनुबाहेकको अर्को विकल्प छैन ।
कोभिड–१९ को समग्र पटाक्षेप कसरी हुन्छ भन्ने अनुमान गर्न अहिले नै कठिन छ । यसवाट हुने भूराजनीतिक प्रभावहरूलाई मानव स्वास्थ्यका मामिलाहरूभन्दा गौण मानिनुपर्छ । तर यसो भनिरहँदा, विश्व राजनीतिको विशाल क्यानभासलाई कहिल्यै बिर्सनु हुँदैन । के निश्चित छ भने, कोरोनाले नित्याएको संकटले विद्यमान विश्व शक्ति सन्तुलनमा आधारभूत परिवर्तन ल्याउने पक्कापक्की छ । यसलाई विद्यमान उदार पुँजीवादी विश्व व्यवस्था विघटनको संघारमा पुगेको र नयाँ विश्व व्यवस्था विनिमार्णको चरणमा प्रवेश गरेको मान्न सकिन्छ ?।
विश्व राजनीतिमा प्र्रत्येक विश्व व्यवस्थाको नेतृत्वकर्ता सुरुमा शृंखलाबद्ध कमजोर हुँदै जाने र कुनै एक घटना परिवर्तनका लागि निणायक हुने प्रवृत्ति देखिन्छ । सन् १९५६ मा ‘सुइच परिघटना’ मा अनावश्यक हस्तक्षेपपछि बेलायती शक्तिमा भइरहेको क्षयीकरणको पदार्फास भयो र यही घटना नै बेलायती साम्राज्यको अन्तको अन्तिम पदचाप बन्यो । विद्यमान विश्वव्यापी महामारीमा अमेरिकाको प्रभावहीन नेतृत्वका कारणले विगत केही समयदेखि गिर्दो अमेरिकी वर्चस्वलाई ‘परिस्थितिजन्य पतन’ को दिशामा पुर्‍याउन सक्छ ।
यसका अतिरिक्त, यो महामारीको प्रभाव अब शास्त्रीय भू–राजनीतिमा मात्र सीमित रहेन । चीनमा १५ शताब्दीमा सैन्य रणनीतिकार एवं कूटनीतिज्ञ चङ खको विश्व समुद्र यात्रापश्चात् मिङ राजवंशले बाहिरी विश्वबाट आफूलाई अलग्याउने (आइसोलेसन) नीति लिएको थियो । इतिहासमा वैदेशिक हस्तक्षेपबाट जोगिन अख्तियार गरिएको अलग्याउने नीति कोभिड–१९ संक्रमणलाई फैलन नदिन अचुक उपायका रूपमा स्थापित हुँदै गएको छ ।
उदार विश्व व्यवस्थाका अनेकन प्रस्तावनाहरूको एकसाथ बर्खिलाफ हुन पुगेको छ । व्यक्तिगत स्वतन्त्रता, भूमण्डलीकरणजस्ता अवधारणाहरूसापेक्ष बनेका छन् । खासमा, अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवादले सदैव राज्यको सर्वोच्चताको पृष्ठपोषण गरेको पाइन्छ । सामान्यतया संकटको घडीमा राज्यहरू थप प्राधिकारसहित थप मुखरित हुने गर्दछन् । आंशिक वा आमरूपमा लागू गरिएको राज्यको बन्दाबन्दीको स्वीकार्यता देखिनुबाट कोरोना भाइरसले आगामी दिनमा भूराजनीतिको स्वरूपलाई थप बदल्दिन सक्छ । अनि, अहिलेको विश्वव्यापी संकटलाई धेरैले विगतका विश्व युद्धहरूसँग तुलना गरेका छन् । तर अहिले सनातन युद्ध चरित्रभन्दा फरक परिदृश्य देखिन्छन् । यस संकटमा, सबै देश र नागरिकहरू ‘अदृश्य शत्रु’ सँग जुधिरहेका छन् ।
विडम्बना, अदृश्य शत्रुसँगको लडाइँमा पनि विश्व समुदाय विभाजित रह्यो । चीनलाई अझ गम्भीर रूपमा नलिनु अथवा पूर्वाग्रहपूर्ण बुझाइका कारण चीनको चीत्कारलाई सिंगो विश्व, मूलतः अमेरिकाले नजरअन्दाज गर्‍यो । अकल्पनीय परिस्थितिबाट गुर्जिरहेका बेलामा चीनले विश्व समुदाय अझ चिकित्सा पद्धतिमा उन्नत एवं अग्रणी मानिएको पश्चिमा जगत्को साथ–सहयोग एवं एक्यबद्धता खोजिरहेको थियो । सम्भवत, चीनलाई उपेक्षा नगरिएको भए विश्वले यति धेरै मानवीय क्षति बेहोर्ने थिएन । विश्व अर्थतन्त्रको यो परिमाणमा तहसनहस हुने स्थितिलाई टार्न सकिन्थ्यो होला ।
चीन राज्यको प्राधिकारको प्रयोगद्वारा कोरोनाको थप संक्रमणलाई रोक्न सफल भएको छ । कोभिड–१९ ले विस्फोटक रूप पहिलो स्थान, चीनको वुहान सहरमा समेत बन्दाबन्दीलाई खुकुलो बनाउँदै लगिएको छ । चीनका अलावा जापान, दक्षिण कोरिया, सिंगापुरजस्ता एसियाली मुलुकहरूले कोरोना नियन्त्रणमा प्रविधिको सहयोग लिँदै असल नमुनाहरू प्रस्तुत गरिरहेका छन् ।

संकटमा नेतृत्व
विश्वव्यापी संकटको यस घडीमा विश्व शक्तिराष्ट्रका बीच संयुक्त सहकार्यका लागि गम्भीर पहल भएका छैनन् । कोभिड–१९ सँगको पहिलो चरणको लडाइँमा अमेरिका नराम्रो चुकेको अनुभूति विश्वले गरेको छ । उसले डिसेम्बरदेखि प्राप्त भएको मूल्यवान समय गुमायो । संसारभर आक्रामक तवरले विस्तार भइरहेको कोरोना संक्रमणविरुद्धको लडाइँमा चिकित्सकीय, मानवीय, भौतिक सहायताको समन्वय र नेतृत्व गर्न अमेरिका पूणतः असफल रह्यो । अमेरिकी संरक्षणवाद र ‘अमेरिका प्रथम’ नीतिका कारण कोरोना संकटले आर्तनाद गरिरहेका युरोपेली मुलुकहरूमाथि बज्रपात हुन पुग्यो । अमेरिकी राजनीतिक नेतृत्वले चीनलाई बदनाम गर्ने मनसायका साथ कोरोना भाइरस उत्पत्तिको भाष्य निर्माण गर्ने कार्यमा आफ्नो सामर्थ्य खर्च गर्‍यो । परिणामस्वरूप आज महामारी विश्वभर घातांकीय दरमा फैलिरहेको छ र यस व्याधिलाई नियन्त्रण गर्न अमेरिका, बेलायत एवं फ्रान्सजस्ता पश्चिमा शक्तिहरू निरीह देखिएका छन् ।
चीनले संक्रमण नियन्त्रण गर्न आंशिक सफलता हासिल गरेको छ । चिनियाँ नेतृत्वले उदारतापूर्वक विश्वका करिब सयवटा मुलुकमा कोरोना संक्रमणविरुद्ध लड्न चिकित्सकीय सामग्री उपलब्ध गराइरहेको छ । र, चीनमा कठोरतापूर्वक लागू गरिएको ‘समाजिक दूरी अभियान’ का अनुभव साट्ने गतिविधिहरू गरिरहेको छ । संक्रमण फैलिएसँगै चालिएका सुरुका कदमहरूको समीक्षा गर्दै चीनले आफूलाई विश्व राजनीतिमा जिम्मेवार शक्तिका रूपमा प्रस्तुत गरेको छ । र, चीन विश्व समुदायको थप विश्वास जित्ने दिशातर्फ उन्मुख भएको देखिन्छ ।
यद्यपि पछिल्ला दृष्टान्त हेर्दा, महामारीले थप विस्फोटक तवरमा विश्वलाई आक्रामक रूपमा गाँजिरहेको छ । मानव जातिले भोगिरहेको अहिलेको महाव्याधि नियन्त्रणका लागि कठोर ‘लकडाउन’ (निषेधज्ञा), अलग्गिने नीति, क्यारेन्टाइनजस्ता उपाय मात्र पर्याप्त देखिँदैनन् । मानवीय सुरक्षा र विश्व अर्थतन्त्रलाई थप क्षति हुन नदिन सामूहिक सम्बोधन र प्रयास थालनी गर्न आवश्यक छ ।
हुन त, विश्व शक्ति राष्ट्रहरू अलगअलग तवरमा कोरोनाविरुद्ध प्रतिरोधात्मक खोप बनाउने अघोषित प्रतिस्पर्धामा जुटेका छन् । यद्यपि प्रतिरोधात्मक खोप तत्काल विकास हुनेमा आशावादी भइहाल्ने स्थिति छैन । कुनै साधारण सिद्धान्त वा एकल रणनीतिक प्रणालीले आकस्मिकतामा प्रकट संकटलाई सम्बोधन गर्न सक्दैन । यसको खोज र विकासका लागि सामूहिक प्रयत्न एवं अन्तर्राष्ट्रिय सहकार्य आवश्यक पर्दछ ।

संकटले निम्त्याएको सहकार्य
शीतयुद्धताका पोलियो खोप विकास गर्न सोभियत र अमेरिकी वैज्ञानिकहरूले सहकार्य गरेका थिए । सन् २००३ मा सार्सविरुद्ध जुध्न अमेरिका र चीनले एकसाथ हातेमालो गरेका थिए । हाल पनि हार्वर्ड–गोन्जौउ इन्स्टिच्युटको संयुक्त लगानीमा वैज्ञानिकहरूले सार्स (कोभि–२) भाइरसको आधारभूत जीवविज्ञान र यस रोगले संक्रमित व्यक्तिहरूसँग कसरी व्यवहार गर्छ भन्ने विषयमा उत्कृष्ट निदान एवं उपचारविधिको शीघ्र विकास गर्न खोजिरहेका छन् । कोभिड–१९ लाई पराजित गर्न हार्वर्ड मेडिकल इन्स्टिच्युट र गोन्जौउ इन्स्टिच्युटले पुनः साझेदारीको घोषणा गरेका छन् । गोन्जौउ इन्स्टिच्युटका प्रमुख चोङ नानसान नै सन् २००३ मा सार्स पहिचान गर्ने पहिलो वैज्ञानिक थिए । चिनियाँ सरकारले हाल गठन गरेको कोरोनाभाइरस विशेष कार्यदलको समेत उनले नै नेतृत्व गरिहेका छन् ।
अन्तर्राष्ट्रिय सहकार्यको सुखद थालनीका रूपमा हेरिएको जी–७ मुलुकका विदेशमन्त्रीहरूको भिडियो कन्फरेन्स विभाजित मतका साथ टुङ्गियो । त्यहाँ विद्यमान महामारीको राजनीतिक एवं सुरक्षा आयामहरूमा विमर्श भए । तर विडम्बना, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पदचापमुताबिक ‘वुहान भाइरस’ नामकरणको प्रयास र उक्त संक्रमणको फैलावटमा चीनलाई दोषारोपणको प्रयत्न भएपछि संयुक्त वक्तव्य जारी गर्ने प्रयास बीचमै तुहियो । अमेरिकाका साझेदार मुलुकहरूले अमेरिकाको उक्त प्रस्तावलाई अस्वीकृत मात्र गरेनन्, अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारीप्रति थप विचलन आएको महसुससमेत गरे । परिणामतः जी–७ का हरेक राष्ट्रले अलगअलग वक्तव्य जारी गर्न विवश भए । कोरोनाविरुद्धको अन्तर्राष्ट्रिय सहकार्यले मूर्तरूप लिन सकेन ।
यसका बाबजुद पनि अमेरिका र चीनका राजनीतिक नेतृत्वले संवाद जारी राखेका छन् । कोभिड–१९ को महाप्रकोपले अमेरिका र चीनको राजनीतिक नेतृत्वलाई आफ्ना भिन्नताभन्दा माथि उठ्न र एकसाथ मानव जातिलाई महामारीको साझा संकटबाट उन्मुक्ति दिलाउन एक उत्तम अवसर प्रदान गरेको छ ।
महामारीको उत्कर्षका बेला, अन्तर्राष्ट्रिय समन्वयका लागि दुवै देशले विश्व स्वास्थ्य संगठनलाई सहयोग पुर्‍याउन सक्छन् । तर हालसम्म उनीहरूले पर्याप्त मात्रामा त्यसो गरिरहेको पाइँदैन । चीन र अमेरिका महामारीलाई पराजित गर्न संयुक्त वैज्ञानिक खोज र सहकार्य गर्न सक्छन्, यसमा जर्मनी, बेलायत, जापान, भारतलाई समेत सामेल गराउनु बुद्धिमता हुने देखिन्छ ।
यसका साथै, अन्तर्राष्ट्रिय सहकार्यले तत्कालका लागि तीनवटा मुद्दामा समाधान खोज्नुपर्छ । सर्वप्रथम महामारीको रोकथामको उपाय खोजी र कोभिड–१९ विरुद्धको खोपको विकासमा पर्याप्त स्रोत–साधन केन्द्रित गर्नुपर्छ । दोस्रो, महामारीले थलिन सुरु गरेको विश्व अर्थतन्त्रलाई ध्वस्त हुन नदिने उपाय अवलम्बन गर्नुपर्छ । तेस्रो, साना र कमजोर अर्थतन्त्र भएका मुलुकहरूलाई आर्थिक रूपमा धराशायी हुनबाट बचाउनेजस्ता मुद्दाहरूको प्राथमिक कार्यसूची बनाइनुपर्छ । र, अझ महत्त्वपूर्ण, कोरोनाविरुद्धको खोप उपलब्ध भएसँगै यसको मझौला एवं साना शक्ति राष्ट्रहरूमा पनि सर्वसुलभ उपलब्धता र सहज वितरणको प्रत्याभूति गरिनुपर्छ ।
ट्वीटर : @RupakSapkota


प्रकाशित : चैत्र १७, २०७६ १५:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×