यस्तो छ सीमाको अवस्था [तस्बिरहरु]

कान्तिपुर संवाददाता

कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गर्दै विभिन्‍न जिल्लामा सीमा नाकामा कडाइ गरिएको छ । भारतसँग जोडिएका खुला सीमामा आइतबार बिहानदेखि केही जिल्लामा बन्द र केहीमा थप कडाइ गरिएको हो । सीमावर्ती सहरहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको जनताको कर्फ्युको प्रभावले पनि सुनसान बनेको स्थानीय बताउँछन् ।

सशस्त्र प्रहरीले कैलालीमा भारत जोडिएका १०१ किलोमिटर सीमामध्ये धनगढीको त्रिनगर र टीकापुरको खक्रौलाबाहेकका खुला सीमा सिल गरेको छ । सशस्त्र प्रहरी बल ३४ नम्बर गणका गणपती एसपी कमल तिमिल्सिनाका अनुसार १०१ किलोमिटरमै सशस्त्र प्रहरीको गस्ती परिचालन गरेर खुला आवतजावत हुने क्षेत्र सिल गरिएको छ । खुला सीमाबाट ओहोरदोहार नरोकिँदा कोरोना भाइरसको संक्रमण भित्रिनसक्ने सम्भावित जोखिमलाई राक्ने खुला सीमा पूर्ण रुपमा बन्द गरिएको एसपी तिमिल्सिनाले बताएका छन् ।

यस्तै सप्तरी प्रशासनले भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई रोक लगाएको छ । सप्तरी जिल्लामा प्रवेश गर्ने ८ वटा नाकामध्ये ७ वटा नाकामा आउजाउ पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ भने कुनौली नाकामा समेत नेपालतर्फ पनि कर्फ्यु जस्तै अवस्था छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको कर्फ्युको आहृवान गरेपछि सिमावर्ती सहरहरुमा अहिले सुनसान छ । नेपाली ग्राहकले भरिभराउ देखिने सप्तरीसँग जोडिएको बिहारको कुनौली बजार पनि आइतबार बिहानैदेखि सुनसान छ । कुनौली नाकामा नेपाल र्फ पनि रहेका पसलहरु ठप्प छ ।

कपिलवस्तुका सीमाका नेपाली बजारहरु पनि बजार बन्द छ । बजारका पसल, व्यवसाय र व्यापारिक प्रतिष्ठान बन्द छन् । सुनसान छ । छिटफुट रुपमा पैदल यात्रुहरु मात्र हिँडेका छन् । कपिलवस्तुको सीमावर्ती बजार कृष्णनगर, मर्यादपुर र चाकरचौडा बजार पुर्ण रुपमा बन्द रहेका छन् । त्यस्तै साना नाका हथिहवा–दोहनी, रंगपुर, हदौना र कुशहवा–बढनी बजार पनि बन्द छन् । पारि भारततिरका बजार पनि बन्द छन् । यातायात पनि चलेका छैनन् ।

अर्जुन शाह (धनगढी), नवीन पौडेल (परासी), अवधेशकुमार झा (राजविराज), देवनारायण साह (मोरङ), तृप्ति शाही (बैतडी), अजित तिवारी (जनकपुर)

प्रकाशित : चैत्र ९, २०७६ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्