कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

यस्तो रहृयो सेना दिवस [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — महाशिवरात्रि एवं सेना दिवसको अवसरमा शुक्रबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका सैनिक कौशल प्रदर्शनी गरेको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतको सहभागितामा सेनाले आफ्नो कौशल देखाएको थियो । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाईंसमेत गरेको छ । त्यसैग्री बढाईं कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७६ को आकृतिसमेत प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाली सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरिएको थियो ।

सेनाको व्यवसायीक कार्यकुशलतासँगै पिटी, तेक्वान्दो, सूट टू किल, कुकलद, रौद्र ताण्डप, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । सेनाले हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरेको थियो । सैनिक ब्यान्डबाट ब्यान्ड डिस्प्लेसमेत प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारकोसमेत प्रदर्शन गरिएको थियो ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गरिन् । सेनाको बढाईं हेर्न टुँडिखेलबाहिर सर्वसाधारणहरुको घुँइचो लागेको थियो । काठमाडौं मलको छतदेखि टुँडिखेल वरिपरि रहेका घरका छत र रुखहरुमा गएरसमेत सर्वसाधारणले सेनाको हर्ष बढाइ हेरेका थिए । सर्वसाधारणलाई कार्यक्रममा प्रवेश दिने गरिएको छैन । 

प्रकाशित : फाल्गुन ९, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्