कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पशुपतिमा महाशिवरात्रि पर्वको रौनक [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको शुक्रबार बिहानैदेखि भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् ।

लाखौँभक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् । पशुपतिनाथमा पूजा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरु पुगेका छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ । नेपालपञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५:४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछिचतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी ६:३७ बजेसम्म छ ।

मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिनमध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा,आराधना,दर्शन गरे यसलोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतम बताउँछन् ।

पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनकोसुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपतिक्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए। पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनकोव्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनकोव्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापनगरिएको उनले बताए ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका,जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानोढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्नेव्यवस्था मिलाइएको सदस्य सचिव ढकालले जानकारी दिए । यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसारएक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्यदर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाटप्रवेशको व्यवस्था मिलाइएको थियो । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेशगरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारीपार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि,कोषको कार्यालय,वनकालीलगायतस्थानमा व्यवस्था मिलाइएको छ ।

आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्‍वर,डोलेश्‍वरलगायतशिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनिधुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।महाशिवरात्रिका दिनमात्र यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्