कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लिग २ मा नेपालको पहिलो जित

विनोद पाण्डे

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा पहिलो विजय हात पारेको छ । घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय विजय हात पार्ने क्रममा नेपालले शनिबार अमेरिकालाई ३५ रनले पराजित गर्‍यो । 


१ सय ९१ रनको विजय लक्ष्य लिएर आएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अलआउट भयो । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको नेपाल ओभरमा १ सय ९० रनमा अलआउट भएको थियो ।


इयान हल्यान्डले ७५ रन बनाए पनि अमेरिकालाई विजय दिलाउन सकेनन् । उनले १ सय ११ बलको इनिङ्समा ७ चौका प्रहार गरे । ६५ रन बनाउँदा ७ विकेट गुमाएको अमेरिकाबाट क्यामरन स्टेभनसनले १९ रन बनाए । नेपालबाट करण केसीले ४, सुसन भारीले ३, सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए ।


यस त्रिकोणात्मक शृंखलामा नेपालको यो पहिलो जित हो । नेपाल र अमेरिका दुवैलाई उनीहरुको पहिलो खेलमा ओमानले पराजित गरेको थियो । यसअघिका ९ खेलमा ६ विजय हात पार्दै ७ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहेको अमेरिकाले पछिल्ला दुवै खेलमा हार व्यहोरेको छ ।


यसअघि कुशल मल्लले विश्व कीर्तिमान बनाउँदै अर्धशतकीय इनिङ्स खेलेका थिए । ४९ रनमा ५ विकेटको दयनीय स्थितिलाई सुधार्नेक्रममा विनोद भण्डारीले पनि अर्धशतक बनाएका थिए । कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपालले ४९.२ ओभरमा १ सय ९० रनमा अलआउट भएको थियो ।


कुशलको यो डेब्यु खेल हो । उनले १५ वर्ष ३ सय ४० दिनको दिनमा अर्धशतक बनाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा ५० रन पुरा गर्ने खेलाडी बनेका हुन् ।


उनलाई शनिबार रोहित पौडेलको स्थानमा खेलाइएको थियो र रोहितले एक वर्षअघि दुबईमा युएईविरुद्ध सबैभन्दा कम उमेरमा अर्धशतक बनाएको कीर्तिमानलाई कुशलले उछिनेका हुन् ।


कुशलले ५१ बलको इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरे । उनले विनोदसँग छैटौं विकेटमा ८४ रनको महत्वपूर्ण साझेदारी गरी नेपाललाई खेलमा फर्काएका थिए ।


विनोदले ७९ बल खेली ६ चौका र १ छक्का प्रहार गरेका थिए । उनीपछि आएका करण केसी १२ रनमा आउट भए भने सन्दीप लामिछाने शुन्यमा पेभेलियन फर्किए । सुसन भारी आउट हुने अन्तिम खेलाडी थिए । उनले ११ रन बनाए । अविनाश बोहरा ५ रनमा अविजित रहे ।


यसअघि नेपाल २२ औं ओभर नेपालले ४९ रन बनाउदा ५ विकेट गुमाइसकेको थियो । नेपालबाट ३ रनको अन्तरमा ४ विकेट गुमाएपछि दबाबमा आएको हो । कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोस्रो विकेटमा ४० रनको साझेदारी गरेपछि नेपाल १ विकेट गुमाई ४६ रनको स्कोरमा पुगेको थियो ।


तर त्यसपछि ज्ञानेन्द्र २१, दीपेन्द्र ऐरी शुन्य, पूर्वकप्तान पारस १९ र आरिफ शेख २ रनमा आउट भएपछि नेपाल नाजुक स्थितिमा पुगेको थियो। ओपनर सुवास खकुरेल ३ रनमा यसअघि नै आउट भइसकेका थिए । प्रकाशित : माघ २५, २०७६ १७:११

प्रतिक्रिया
पठाउनुहोस्