१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘आई नीड ओपन स्पेस टु प्ले’

अकुपाई टुँडिखेल
दामोदर न्यौपाने

काठमाडौँ — टुँडिखेलको बारमा प्रदर्शन गरिएका तस्बिर हेरेपछि त्यहाँ राखिएको सेतो कपडामा एक बालकले लेखे– ‘आई नीड ओपन स्पेस टु प्ले’ । उनी रहेछन्, दरबारमार्गको जामे मस्जिदमा कक्षा ४ पढ्दै गरेका समीर रहमान । साथीसँग घुम्दै आएका रहमानले आफ्नै सुरमा लेखेर फर्किंदै गर्दा ‘अकुपाई टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठले उनलाई रोके । उनले लेखेकै ठाउँमा लगेर फोटो खिचे अनि भने, ‘खुला ठाउँको महत्त्व तिमीले बुझेका रहेछौं । तिम्रै मस्जिदछेउमा मेरो पाउँ पसल छ, त्यहाँ गएर दुई पाकेट लिएर जाऊ, तिमीलाई उपहार भयो ।’

अभियानको दसौं हप्ता शनिबार गरिएको फोटो प्रदर्शनी हेर्न बालकदेखि वृद्धसम्मको भीड थियो । ‘हामी नबिर्सौं’ शीर्षकमा ‘तन्नेरी चासो’को संयोजनमा भएको प्रदर्शनीमा चन्द्र शमशेरले दास मुक्त गर्दै गरेको तस्बिरदेखि अहिले खुलामञ्च मासेर निर्माण सामग्री राखिएका, पार्किङ गरिएका तस्बिर समावेश छन् । यहाँ राखिएको सबैभन्दा पुरानो तस्बिर दास मुक्त घोषणा गर्दाको हो । ‘यो ऐतिहासिक चौतारो अहिले छैन,’ संयोजक श्रेष्ठले तस्बिर देखाउँदै भने भने, ‘चौतारोजस्ता धेरै इतिहास यहाँबाट मासिएका छन् । टुँडिखेलका पुराना तस्बिर देखाएर महत्व बुझाउने कोसिस गरेका हौं ।’ जुद्ध शमशेरले १९९० सालको भूकम्पमा राहत र पुनर्निर्माणको घोषणा गरेको तस्बिर पनि पुरानोमध्येमा पर्छ । राणा शासनको बेला कुनै सार्वजनिक घोषणा, विदेशी पाहुनाको स्वागत गरिने टुँडिखेलको चौतारो पञ्चायतकालमा भत्काइएको थियो । यसलाई पुनर्स्थापना गर्नुपर्ने मागसहित अभियानको दोस्रो साता खरीको बोट रोपिएको थियो ।

बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, शैलजा आचार्य, साहना प्रधानलगायत दिंवगत नेताले टुँडिखेलको मञ्चमा भाषण गरिराखेको तस्बिर पनि प्रदर्शनीमा छन् । ०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्र आएको खुसीयालीमा यही मञ्चमा विजयसभा भएको थियो । ०६३ मा लोकतन्त्र प्राप्तिपछि पनि यही मञ्चबाट विजयसभा गरिएको थियो । ५० वर्षअघिको काठमाडौं कस्तो थियो भनेर झल्काउने तस्बिर पनि यहाँ छन् । बागबजार क्षेत्रको हरियाली फाँट, पातला बस्ती र बौद्ध क्षेत्रमा धान रोप्ने खेतले त्यो बेलाको खुला काठमाडौंका झल्को दिन्छ । ‘त्यतिबेलाको काठमाडौं त सिंगापुरभन्दा पनि सुन्दर रहेछ,’ नुवाकोटकी संरक्षणकर्मी दीपज्योति श्रेष्ठले भनिन्, ‘५० वर्षमै काठमाडौं कति कुरूप भएछ भन्ने यी तस्बिर हेरेर अनुभूत भयो ।’

खुलामञ्चको महत्व दर्शाउने तस्बिर पनि प्रदर्शन गरिएका छन् । ‘हाम्रा पितापुर्खाले अनन्तकालदेखि संरक्षण गर्दै आएको टुँडिखेलमा अहिले बसपार्क, पसल, पार्किङ अनधिकृत रूपमा राखिएको छ,’ संरक्षणकर्मी आलोकसिद्धि तुलाधरले भने, ‘यो स्थिति कायम रहे भविष्यका सन्ततिले यो महत्वपूर्ण क्षेत्र गुमाउनुपर्ने हुन्छ ।’ अभियान गत कात्तिक २३ गतेबाट सुरु भएको हो ।


प्रकाशित : माघ ४, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्