१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

देवघाटमा मकर स्‍नान [तस्बिरहरु]

रमेशकुमार पौडेल, सम्झना रसाइली

चितवन र तनहुँ — देवघाटधाममा मकर स्‍नानका लागि लाखौं जुट्ने गर्दछन् । अघिल्लो वर्ष ५ लाखको हाराहारीमा देश विदेशका हिन्दु, बौद्धमार्गीहरु स्नानका लागि आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । समिति अध्यक्ष शिवराज पौडेलले मंगलबार र बुधबार बिहानपखको चाप हेर्दा यो पटक पनि सोही संख्यामा भक्तहरु आउने बताए । देवघाट त्रिशूली र कालीगण्डकीको संगमस्थल हो ।

यी दुई नदी मिलेकै समयदेखि देवघाटमा मकर स्नान मेला सुरु भएको धार्मिक कथन रहेको अध्यक्ष पौडेलले बताए । देवघाटधाममा गरिने मकर स्नानसँग हिन्दुहरुको धार्मिक आस्था र विश्वास छ । ‘वशिष्ठ, विश्वमित्र, यज्ञवलक्य जस्ता ऋषि, जनक, सीता जस्ता धार्मिक व्यक्तित्वहरु यस देवघाटमा आएर तपस्या गरेको, रामले अश्वमेध यज्ञ लगाएको, सीता विलय भएको, पाल्पाली राजा मणिमुकुन्द सेन आएर तपस्या गरेको धार्मिक विश्वास र ऐतिहासिक तथ्य देवघाटसँग जोडिएको छ’ अध्यक्ष पौडेलले भने ।

त्रिशूली गोसाइँकुण्डबाट र कालीगण्डकी दामोदरमुण्डबाट बग्दै आएका दुई ठूला नदी हुन् । तनहुँ, चितवन र नवलपुरको संगम रहेको देवघाटमा यी दुई नदी मिलेका छन् । त्यसपछि यो नदीको नाम नारायणी रहेको छ । ‘माघे संक्रान्तिमा स्नान गर्न देवी देवताहरु पनि आउने गर्छन् भन्ने धार्मिक विश्वासले गर्दा देश विदेशका हिन्दुहरु मकर स्नानका लागि देवघाट आउने गर्दछन्’ अध्यक्ष पौडेलले भने ।

यो पटक मकर स्नानका लागि भारत केदारनाथबाट जगत गुरु भिमाशंकर आचार्य आउने कार्यक्रम रहेको पौडेलले जानकारी दिए । यसबाहेक भारतबाट फाट्टफुट्ट सर्वसाधरणहरु पनि आउने गर्दछन् । देवघाटलाइ आदी प्रयोग भनिने भएका कारण प्रचारप्रसार बढाए भारतका हिन्दुहरुको चाप बढ्ने विश्वास उनको छ । देवघाट स्नानका लागि आउनेहरुको चापले नारायणगढ बजारसम्मै भीडभाड रहने गर्दछ ।

नुहानका लागि चितवनतर्फ र तनहुँ तर्फको संगमस्थलमा भक्तहरुको एकनासको भीडभाड देखिन्छ । दासढुंगामा पुल बने पनि देवघाट पुग्ने परम्परागत मार्ग नारायणगढ आँपटारी, बागीश्वरी रुटमा गाडीको चाप हुने गर्दछ । मकर स्नानका लागि दुई दिन यो रुटमा एकतर्फी गाडी चल्छन् । नारायणगढबाट देवघाट जाने गाडीहरु रामनगर हुँदै जान्छन् भने फर्कंदा पुरानै बागेश्वरी आँपटारी रुट हुँदै फर्कन्छन् ।

देवघाटमा त्रिशूली नदी वारपार गर्न बनेको झोलुङ्गे पुल जीर्ण भएका कारण पालो मिलाएर ओहोरदोहोर गर्नुपर्ने हुन्छ । नदी वारपार गर्न र्‍याफ्टिङ बोटहरु पनि छन् । कुनै दुर्घटना भएमा उद्धारका लागि सेना र सशस्त्र प्रहरीको टोली गोताखोरसहित बसेका छन् । अघिल्लो दिनमै देवघाट आएर बसेकाहरु रातभर भजन, किर्तन गरेर रमाइलो गर्दै बिहानै नहुाएर फर्के ।नुहाएपछि देवघाटमै पितृ श्राद्ध गर्ने, व्रतबन्ध गर्ने र ब्राह्मण र साधुलाई दान दक्षिणा गर्ने चलन छ । धार्मिक तथा सामजिक संघसंस्थाले चीया, खिचडी बाँड्ने गर्दछन् । धुनी जगाएर बस्ने साधुहरु र कपडा भुइँमा फैलाएर चामल माग्नेहरुको पनि निकै भीड देखिने गर्दछ ।


प्रकाशित : माघ १, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्